Saturday, November 14, 2009

पर्बत प्रबाशी समाज दक्षिण कोरियाको प्रेस विज्ञप्ति

मितिः २००९ अक्टुबर १४

२००९ फेब्रुरी १५ तारिक "नेपाल सम्पर्क समिति दक्षिण कोरिया" को आयोजनामा आगामी कोरियाको महान चाड "छुसक र सल्नाल" मा को कसले रमाइलो सांस्कृतिक कार्यक्रम देखाउने ? भन्ने बारेमा कोरियामा स्थापना भएका संपूर्ण संघ र समाजहरुलाई "नेपाल सम्पर्क समिति" अर्थात छाता संघठनको कार्यलयमा बोलाई राती अबेरसम्मको निर्णयमा गोला पर्थ बाट "पर्बत प्रबासी समाज दक्षिण कोरिया" ले मिति २०१० फेब्रुरी १४ तारिक सल्नाल को दिन आफ्नो "सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" प्रस्तुत गर्ने मौका पाई सबै स्थान्हरुमा प्रचार-प्रसार गर्दै अई रहेको छ साथै २००९ अक्टूबर ०१ तारिक पर्बत प्रबाशी समाजको नियमित बैठक बसी आउदो सलनाल पर्बत सांस्कृतिक सौगात २०१०" तयारीको लागि कलाकार छनोट, हलको व्यवस्था र टिकेट उपर निर्णय पारित गरेको छ l
तर कही दिन देखि नेपाल कोरिया न्यूज़ मार्फत रघु त्रिपाटी अध्यक्ष रहनु भएका "आपात कालीन समाज" ले अचानक बिना निर्णय र पर्बत प्रबाशी समाज संघ कुनै सलाह नगरी फेब्रौरी १४ तारिक नै नेपाल बाट "नेपथ्य बेन्ड" लेउने हल्ला फिजाई रहनु सरा-सर मुर्खता जनाउनु भएको तथा सिधै कोरियाको संपूर्ण संस्थाहरु को निर्णय बिपरीत भएको हुदा आपातकालीन समाजको यो निर्णय फिर्ता गरिदिनुहोला भन्ने अनुहारोद गर्दछु


पर्बत प्रबासी समाज
दक्षिण कोरिया

परिवार र देश विछोडको तुलनामा मैले कोरियामा केही पाइँन

बम लावती : Ex President of NCC south korea
१४ वर्षदेखि कोरियामा श्रम, राजनीति, समाजसेवा तथा साहित्यमा एकैसाथ संलग्न भएका बम लावतीलाई अहिले कोरिया अध्यागमनले ह्वासङ प्रवासी बन्दी गृहमा राखेको छ। गत साता पक्राउ परेका उनलाई शनिवार नेपाल फकाइँदैछ। बन्दीगृहमा उनी आफ्नो विगतको सुक्ष्म विश्लेषण गरिरहेका छन्, विदेशी भूमिमा के पाएँ र के गुमाएँ भन्दै। नाबालक छोराछारी र जवान श्रीमतीलाइ स्वदेशमै छोडेर पराइ भूमीमा बस्दा उनलाई परिवारको साथ नै सबैभन्दा बढी गुमेको अनुभव भएको छ। उनको 'चट्टान फुटाउदै गरेका बालबालिका' नामक पुस्तक कोरियाली भाषामा प्रकासित छ। कोरियामा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समितिका अध्यक्ष समेत रहेर काम गरिसकेका लावतीसँग माधवी भट्टले गरेको संक्षिप्त कुराकानीः
प्रश्नः तपाइँत जेलमा हुनुहुन्छ। किन पक्राउ गरिएको हो ?
म सन १९९६ मा कोरिया आएका हुँ। मैले काम गरेको कम्पनी राम्रो थिएन। त्यसैले तीन महिनामा नै भिषाविहीन हुन पुगेँ।जनावरजस्तै खटिँदा पनि त्यो तीन महिनामा मैले काम गरेको तलव सबै पाइनँ। त्यसपछि म कोरियामा भिषाविहीन भएरै बसे। भिषाविहीन विदेसी श्रमिकलाइ धपाउने कोरिया सरकारको नीतिको म पनि शिकार भएको हुँ।

प्रश्नः नेपाल कहिले फर्काइदै हुनुहुन्छ? पक्राउ नपरेको भए कतिसमयसम्म कोरिया बस्ने विचार थियो?
नेपाल पठाउने सवै प्रक्रिया पुरा भइसकेको छ। यही शनिवार फर्काइँदैछ। पक्राउ नपरेको भएपनि आउने डिसेम्बरसम्ममा नेपाल जाने सोच बनाइसकेको थिएँ। लामोसमयको विदेश बसाइमा म परिवार र स्वदेशको सम्झनामा नराम्ररी छटपटिएका थिएँ।


प्रश्नः कोरिया आउनअघि नेपालमा तपाइँको परिचय के थियो? किन कोरिया आउनुभएको?
नेपाल आउनअघि म पाँचधर जिल्लाको शरस्वती विद्यालयमा शिक्षक थिएँ। नेपाल शिक्षक संघको राजनीतिमा पनि सक्रिय थिएँ। काठमाडौं आउजाउको क्रममा साथीहरुले राजनीतिको लागि ३०-४० लाख रुपैया चाहिन्छ भन्थे। मलाई पनि कुरो ठिकै जस्तो लाग्यो। कोरियामामा ३-४ वर्ष काम गरैर पैसा कमाएपछि नेपालमा राजनीति गरौँला भन्ने सोचले म यता हानिएको थिएँ। तर सोचेजस्तो भएन। उता संघसंगठनमा हिँडेको बानी यता आएर पनि त्यसलाई छोढ्न सकिएन। खासगरी कोरिया आएको पहिलो वर्ष हातकाटिएका ३ जना प्रवासी श्रमिकलाइ कोरिया अध्यागमन अधिकारीहरुले लछारपछार गरेको देखें। यो दृश्यले मलाइ यहाँको मानवअधिकारको स्थिति दर्दनाक छ भन्ने थाहा भयो। त्यसैले श्रमिक अधिकारका लागि पनि संघर्ष गरेँ।

प्रश्नः ३०-४० लाख पैसा जम्मा भयो त? अब गएर के गर्ने विचार छ?
पैसा त ३५-४० लाख कमाइयो होला तर त्यो एकमुष्ट जम्मा गरिएन। कमाउदै परिवारलाइ पठाउँदै गरियो। अब नेपाल गएर जिल्लाको राजनीति र समाजसेवामा नै सक्रिय रहने विचार छ। कोरियामा त राजनीति र सामाजिक कार्यबाट बाहिर निष्कन सकिएन। नेपालमा पनि के त्यसै बस्न सकिएला र?


प्रश्नः तपाइँ केहीवर्षअघि कोरियामा भएको धरकपकडविरुद्ध धर्ना र प्रदर्शनीमा पनि सामेल हुनुभएको थियो। अहिले पनि केही नेपालीहरु प्रदर्शनमा सामेल छन्। यसरी विरोधमा सहभागी हुनपर्ने कारण कै होला?
कोरियामा विदेशी मजदुरमाथीको चरम शोषण देखेकाले कोरियनहरुले प्रवासी श्रमिकअधिकारका लागि गरेको आन्दोलनमा म पनि सक्रिय थिएँ। कोरियाको राजधानी सोलको म्योङदोङ चर्चमा भएको सिट इन स्ट्रगलका बेला म स्वयं प्रचारप्रसार समितिमा थिएँ। अहिले मलाइ के लाग्छ भने त्यसमा विदेसीहरुको अधिकार मुद्दा केवल नारामा मात्र रहेछ वास्तविकतामा होइन। कोरियालीहरुले अमेरिकी गाइको मासुविरुद्धको आन्दोलनमा, अमेरिकी आर्मीकौ उपस्थितिका विरुद्धमा हुने प्रदर्शनमा पनि विदेसी श्रमिकलाई सहभागी गराइरहेका छन्।

कोरियनहरु कस्ता हुन तपाइँ नजरमा?
कोरिया जति विकसित छ। कोरियन समाज र मानिसहरुको सोच त्यति विकसित भएजस्तो लागेन मलाई। तर कोरियालीहरुबाट सिक्नुपर्ने दुइटा कुरा छ। अनुशासनकौ पाठ र श्रम गर्ने संस्कार।

तपाइँले कोरियामा के पाउनुभयो र के गुमाउनु भयो?
मैले कोरियामा करिब डेड दशकको अवधिमा सधैँ गुमाएको मेरो परिवार नै हो। म नेपाल छोड्दा छोरा सातवर्षको र छोरी डेडवर्षकी थिइन्। जवान श्रीमतीलाई उता एक्लै छोडेर यता आफू एक्लै। देशको सम्झलनाले सताइरह्यो। परिवार र देशको विछोडको तुलनामा मैले कोरियामा केही प्राप्त गरिन्।

Friday, November 13, 2009

श्रीमतीले गराइन् अपहरणपछि हत्या




नयाँ पत्रिका

काभ्रे, २६ कात्तिक

६ वर्षदेखि परपुरुषसँग यौनसम्बन्ध राख्दै आएकी एक महिलाले आफ्नै श्रीमान्को अपहरणपछि हत्या गराएको रहस्य खुलेको छ । आरोपी महिला र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका श्रीमान्को शव अझै फेला परेको छैन ।

श्रीमान्ले आपनो कर्तुत थाहा पाएपछि कुशादेवी-५ की भवानी आचार्यले श्रीमान्को अपहरण गराएकी थिइन् । ५० हजार रुपैयाँ दिएर अपहरण गर्न प्रयोग गरेका अपहरणकारीले भने उनको श्रीमान्को हत्या नै गरिदिएको खबर उनलाई दिएका थिए । भवानीको बयानका आधारमा प्रहरीले उनका सहयोगी लक्ष्मण तिमल्सिनालाई पनि पक्राउ गरेको छ ।

तीन वर्ष मलेसिया बसेर घर र्फकेका भवानीका श्रीमान् ३१ वर्षीय अर्जुन (रामचन्द्र) आचार्य २६ असोजदेखि बेपत्ता थिए । उनको अपहरणपछि हत्यामा उनकै श्रीमतीको मिलेमतोमा भएको रहस्य बुधबार मात्र खुलेको हो ।

भवानीलाई सोमबारसाँझै इलाका प्रहरी कार्यालय बनेपा ल्याइए पनि उनले आफूलाई श्रीमान्को अवस्थाबारे कुनै जानकारी नभएको बताइन् । तर, बुधबार बिहान उनले प्रहरीसँग अपहरण गर्न लगाएको र अपहरणकारीले नै श्रीमान्को हत्या गरेको बयान दिएकी छिन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ऋषिकेश पाण्डेका अनुसार भवानीले श्रीमान् अर्जुनलाई अपहरण गर्न स्थानीय लक्ष्मण तिमल्सिनालाई ५० हजार रुपैयाँ दिएको बताएकी छिन् । तिमल्सिनासँग उनको ६ वर्षदेखि अनैतिक सम्बन्ध रहेको पनि उनको भनाइ छ ।

तिमल्सिनाले बिहान पाँच बजे घरबाट निस्केका अर्जुनलाई घरबाट गाउँतिर जान लागेको अवस्थामा अपहरण गरी अन्य चारजना सहयोगीको मद्दतबाट हत्या गरेको भवानीले बयानमा भनेकी छिन् । 'मैले एक महिनासम्म अपहरण गरेर बेपत्ता बनाउनू, ५० हजार दिन्छु भनेकी थिएँ,' उनले प्रहरी बयानमा भनेकी छिन्, 'तर २८ असोजमा मारिदिएँ भनेर खबर गरे ।' दसैँअगाडिदेखि नै अर्जुनलाई अपहरण गरेर बेपत्ता बनाउने योजना बनाएको उनले प्रहरीलाई बताएकी छिन् ।

प्रहरी निरीक्षक पाण्डेका अनुसार भवानीको बयानका आधारमा तिमल्सिनालाई बुधबारै पक्राउ गरिएको हो । तर, तिमल्सिनाले आफूले अर्जुनको हत्या नगरेको बताएको पाण्डेले जानकारी दिए । 'भवानीले अपहरण गरेर हत्या गर्न लगाएको स्विकारे पनि तिमल्सिनाले स्विकारेका छैनन्,' पाण्डेले बिहीबार नयाँ पत्रिकासँग भने । भवानीले लक्ष्मणसहितका व्यक्तिले अर्जुनको हत्या गरेर कुशादेवी-६ स्थित महादेव मन्दिरनजिकै फालिदिएको बताएपछि बुधबार बिहानैदेखि प्रहरीले अर्जुनको शव खोजी गरिरहेको छ । तर, बिहीबारसम्म पनि उनको शव फेला परेको छैन ।

तीन वर्ष मलेसियामा बसेर गत वर्षमात्र घर फर्केका अर्जुन र भवानीबीच केही समयदेखि आर्थिक हिनामिना र भवानीको अनैतिक सम्बन्धका विषयमा सामान्य झगडा पर्ने गरेको उनका छिमेकी तथा आफन्तले बताएका छन् । बाबुआमासँग छुट्टिएर बस्दै आएका उनका सात र नौ वर्षका दुई छोरा छन् । यसअघि एक दर्जनभन्दा बढी विभिन्न अभियोगमा पक्राउ परिसकेका तिमल्सिना भने आपराधिक चरित्रको व्यक्ति भएको प्रहरी दाबी छ ।


यसरी खुल्यो रहस्य

२६ असोज बिहानैदेखि बेपत्ता भएका अर्जुनका बारेमा उनकी श्रीमती भवानीलाई परिवारका अन्य सदस्य र स्थानीयवासीले पटक-पटक जानकारी माग्दै आएका थिए । उनले 'उहाँ त विदेश जानुभएको छ' भन्दै ढाँट्दै आएकी थिइन् । तर, तिहारपछि उनको घरमा शंकास्पद व्यक्तिको पटक-पटक आवागमन भएको देखेपछि परिवारका सदस्य र गाउँलेले उनीमाथि सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनले विदेश नगएको र २६ गतेदेखि नै अर्जुन हराएको बताइन् । कात्तिकको दोस्रो साता भवानीले श्रीमान् अर्जुन आचार्य हराएकाले खोजी गरी पाऊँ भन्दै प्रहरीचौकी कुशादेवीमा निवेदनसमेत दिइन् ।

Thursday, November 12, 2009

असिना तर्काउने लामा !




पर्वतको बाजुङ गाउँमा मन्त्रको शक्तिले असिना-पानी रोकिदिन्छु भनेर लामाले दुई लाखबराबरको अवैधानिक कर उठाउँछ, लामा राख्ने निर्णय प्रमुख दलहरूको साझा बैठकले गर्छ

आजदेखि मंसिर लाग्यो । किसानहरूको खेतीबाली थन्काउने काम लगभग सकिइसक्यो । अब पर्वत बाजुङका घरघरमा 'तन्त्रमन्त्र' जान्ने लामा थैलो बोकेर 'कर' उठाउन आउनेछ । उसले प्रत्येक घरबाट एक-एक पाथी धान, एक-एक माना चामल, दाल र गेडागुडी, ताजा तरकारी, फलफूल, कुचोका लागि अमि्रसो र बाबियो जम्मा गर्दै हिँड्नेछ । यतिविधि कर जम्मा गर्न उसलाई गाउँका दुईजना कटुवालहरूले सघाउनेछन् । पन्ध्र सयभन्दा बढी घरकुरिया भएको बाजुङ गाउँबाट उसले अढाई लाख जति रकमबराबरको अन्नबाली बटुल्नेछ । यो उसको एक महिनाको 'पारिश्रमिक' हो ।

एकै महिनामा दुई-अढाइ लाख कर ! यो 'कर' असिना-पानीबाट धानबाली जोगाइदिएबापतको हो । 'तन्त्रमन्त्र' र 'फू-फा' गरेर उसले असिना-पानी रोकिदिने दाबी गर्छ । र, बाजुङवासीले त्यही दाबीलाई वैज्ञानिक सूत्रजस्तो विश्वास गर्छन् । अनि, प्रत्येक वर्ष गाउँलेहरूले पोखरा बस्ने बौद्धमार्गी लामालाई गाउँमा निम्त्याएर असिना रोकिदिन अनुरोध गर्छन् । लामा बाजुङ आउँछ र आफ्नै विधि र नियम बनाउँछ । ऊ गाउँको कोटको अग्लो डाँडामा बसेर पूजापाठ गर्छ, शंख फुक्छ, मन्त्र जप्छ । प्रत्येक वडा र टोलमा 'ऊँ मणि पद्ममे हुँ' लेखिएका चक्र -फिरफिरे)हरू बाँसको लिंगोमा गाड्छ ।

लामाले गाउँलेहरूले अनिवार्य पालना गर्नैपर्ने केही नियमहरू बनाउँछ । ऊ कोटमा बसुन्जेलको एकमहिने अवधिमा कमेरोले घर पोत्न पाइने छैन, कर्कलो काट्न पाइने छैन, मस्यौरा पार्न पाइने छैन, देउसी-भैलो खेल्न पाइने छैन, पीङ खेल्न पाइने छैन, मादल बजाउन पाइने छैन, सुसेल्न पाइने छैन आदिआदि । यी नियम उल्लंघन गर्न कसैलाई पनि अनुमति हुँदैन । अनि, असिनापानी पक्कै रोकिन्छ त ? कुनै वर्ष संयोगले असिनै पर्दैन । कुनै वर्ष असिनाले खेती खायो भने लामाले 'कसै न कसैले, कहीँ न कहीँ नियम तोडेको' आरोप लगाउँछ । उसका मतियारहरूले 'होमा हो' मिलाउँछन् । जसरी पनि उसको 'ठग-अभियान' सफल हुन्छ । लामाप्रथा कहिलेदेखि सुरु भयो, कुनै रेकर्ड छैन । सबै भन्छन्, 'धेरै पहिलेदेखि ।'

यस्तो काम कसको अगुवाइमा हुन्छ त ? पहिलेपहिले गाउँ विकास समितिले नै औपचारिक रूपमा लामा राख्थ्यो । अहिले गाउँमा क्रियाशील प्रमुख दलका प्रतिनिधिहरूको बैठकले लामा राख्ने निर्णय गर्छ । खरो क्रान्तिकारी ठानिएको माओवादी पनि 'मन्त्रबाट असिना रोक्ने' परम्पराको अभियन्ता बनेको छ । तीन-चार वर्षयता उसले लामाको विरोध गर्ने स्थानीय युवाहरूलाई सघाउनुको सट्टा आफ्नै पार्टी सदस्यसहितको समिति बनाउँछ र लामालाई स-सम्मान 'कर' बुझाउन जनतालाई आग्रह गर्छ । यस वर्षदेखि पार्टीहरूले 'कर'सम्बन्धमा नयाँ निर्णय गरेका छन्- अब किसानले धानको सट्टा त्यसको मूल्यबराबरको रुपैयाँ लामालाई तिर्ने ।

संसार एक्काइसौं शताब्दीमा प्रवेश गर्‍यो भनिन्छ । अहिलेको युग विज्ञान-प्रविधिको हो पनि भनिन्छ । अन्धविश्वास र रुढिवादका जमाना गए भनेर भाषण दिइन्छ । तर, बाजुङमा नयाँ नेपालका नयाँ पार्टीहरू नै 'मन्त्र' पढ्नेले असिना थामिदिन्छ भनेर जनतालाई अवैधानिक कर तिर्न बाध्य पारिरहेका छन् । विगत छ वर्षदेखि 'लामाप्रथा' हटाउने सामाजिक अभियानको नेतृत्व गरेको संगीतपुर सचेतना केन्द्रले यसपटक पनि 'कर' नतिर्न किसानहरूलाई आग्रह गरेको छ । तर, पार्टीहरू उसको अभियानलाई खिसीटिउरी गर्छन् । केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले भने, 'दुई वर्षसम्म त हाम्रो दबाबमा लामा हटेको पनि थियो । यसपालि फेरि राखिएको छ । हामीले सबै पार्टी प्रतिनिधिहरूलाई तुरुन्तै हटाउन भनेका छौँ, तर उनीहरूले वास्ता गरेका छैनन् ।'

बाजुङमा खान-लाउन नपुग्ने परिवारहरू थुप्रै छन् । स्कुल जान नपाएका बच्चाहरू त्यत्तिकै छन् । आधारभूत आवश्यकताको अभावमा जीवन बाँच्नेहरूको पीडा उस्तै छ । अवसर नपाएर खुम्चिनेहरूको संख्या पनि त्यहाँ कम छैन । तर, हाम्रा पार्टीहरू किसानको मिहिनेत बटुलेर लामालाई पोस्छन् । पञ्चायतदेखि केही ठालु-मुखियाले लामाबाट गाउँभरिबाट अन्न संकलन गराउने र उसलाई अलिकति मात्रै दिएर बाँकी आफँैले राख्ने गर्थे । अहिले पनि लामा राख्ने निर्णय गर्ने समितिलाई लामाले एउटा बोको 'भूमे पुज्ने' बहानामा खुवाउने गर्छ । भित्री रूपमा यस्ता दलाली र लेनदेन कति हुन्छन्, सोझा किसानलाई सबै थाहा छैन ।

पार्टीहरूकै सल्लाह र मिलेमतोमा यस्ता अन्धविश्वासी प्रथालाई निरन्तरता दिइएको छ । जबर्जस्ती अवैधानिक कर उठाएर लामालाई बुझाउन किसानलाई पार्टीहरूले नै बाध्य पारेका छन् । यो रोक्ने कसले हो ? जिल्ला प्रशासन कार्यालयले यतातिर ध्यान दिनुपर्ने हो कि ? स्थानीय युवा र किसानहरूको असहमति हुँदाहँुदै लामा राख्न बाध्य पार्ने त्यहाँका पार्टी समितिलाई केन्द्र पार्टीले कुनै निर्देशन दिनुपर्ने हो कि ? कि नयाँ नेपालमा यस्ता परम्परा जोगाइरहने हो ?

गण्डकी-धौलागिरितिर एउटा लोकगीत प्रचलित छ-

देउपुरको जस्तो खेती र पाती, बाजुङको जस्तो गाउँ

उराठ लाग्दो दुर्लुङको डाँडो, मोहनी लाग्ने पाङ !

अहिलेको संसार शिक्षा, सूचना, वैज्ञानिक चेतना र नयाँनयाँ विकासका खुड्किलाहरू चढ्दै छ । तर, बाजुङ गाउँ लामासहितको उही पुरानै 'बाजुङको जस्तो गाउँ' कहिलेसम्म रहिरहने हो ?

Tuesday, November 10, 2009

एउटै जिल्लाभित्र तीन अञ्चलका फोन

फलेवास, पर्वत ।

जिल्लाभित्रै फोन गर्दा एसटिडी शुल्क लागेको प्रायः कमै सुनिन्छ होला, तर पर्वतका दुई दर्जन गाविसवासीको पीडा यही छ ।
आफ्नै जिल्लाभित्र एसटिडी शुल्क तिरेर टेलिफोन सम्पर्क गर्न बाध्य छन् पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारण । टेलिकमले आफ्नो क्षमता विस्तार गर्न नसक्दा एउटै जिल्लाभित्र पनि धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका सञ्चारसाधन प्रयोगमा आउने गरेका हुन् ।
नेपाल टेलिकमलगायत अन्य कम्पनीका सञ्चार सञ्जाल जिल्ला सदरमुकामलगायत आसपासका क्षेत्रमा मात्र केन्दि्रत बनेपछि सदरमुकामको प्रत्यक्ष सम्बन्धबाट बञ्चित बनेका गाउँलेहरुले अन्य जिल्लाको सहयोगमा महङ्गो शुल्क लाग्ने एसटिडी फोन जडान गरेका छन् ।
धौलागिरि अञ्चलमा पर्ने पर्वतको उक्त क्षेत्रमा लुम्बिनी र गण्डकी अञ्चलको कोड रहेका फोन र मोबाइल प्रयोग गर्न उनीहरु बाध्य छन् । पर्वत जिल्लाको कोड रहेको फोनले नटिप्ने भएपछि छोटो दुरीमा पर्ने छिमेकी जिल्ला स्याङ्जा, पाल्पाका टेलिफोन जडान गरिएको छ ।
‘आफ्नै जिल्लाभित्र फोन गर्दा पनि एसटिडी शुल्क तिर्नुपर्ने स्थिति छ’ वहाकिठाँटीका दीपक भूषालले भन्नुभयो ।
नेपाल टेलिकम, पर्वतले लामो समयदेखि दक्षिणीभेकमा पनि टेलिफोन र मोबाइल सञ्चालन गर्ने बताउँदै आएपनि ती सेवाहरु सदरमुकाम र आसपासका क्षेत्रमै सीमित राखेको छ ।
शाखाले लुंखु र गोल्र्याङधामको लेकमा टावर राख्ने आश्वासन दिँदै आएको छ ।

Sunday, November 8, 2009

सोह्र वर्षदेखि पिसाब बग्ने समस्याले किशोरी ग्रसित

फलेवास, पर्वत।

पर्वत जिल्लाकी एक किशोरी जन्मैदेखि अहिलेसम्म पनि निरन्तररुपमा चौबिसै घण्टा पिसाब बग्ने रोगले ग्रसित भएकी छिन् ।
तिलाहार गाविस-६ की १६ वर्षिया पार्वती गौतम जन्मेको दिनदेखि नै यस्तो समस्याले ग्रसित भएकी हुन् । सधैं निरन्तररुपमा पिसाब बग्ने भएपछि गौतम समस्यामा परेकी छन् ।
यस्तो समस्या देखापरेपछि गौतमलाई आठ वर्ष्ाको उमेरमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा लगिएको थियो ।
पोखरा लगेर केही समय उपचार गराए पनि समस्या निराकरण नभएपछि उमेर बढ्दै जाँदा आफैँ निको हुने आशामा अन्यत्र उपचारका लागि लगिएको छैन ।
यस्तो समस्याका लागि निरन्तर बाचुन्जेल औषधि खानुपर्ने डाक्टरले बताए पनि आर्थिक अभावका कारण उनीलाई न त थप उपचारका लागि कतै लान सकिन्छ, न औषधि किन्न पर्याप्त आर्थिक स्रोत छ ।
किशोरी बिरामी नै भए पनि कक्षा १० मा अध्ययनरत रहेको परिवारले जनाएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि अन्यत्र लान नसकिएको पार्वतीका बाबु देवीप्रसादले बताउनुभयो ।
अन्य दाजुभाइहरु स्वस्थ्य नै रहेका परिवारमा पार्वती मात्रै अस्वस्थ्य छिन् । पठनपाठनका लागि बिरामी गौतम दैनिक विद्यालय जाने गर्छिन् । उपचारका लागि बनेपालगायतका अस्पतालहरुमा लगे पनि शल्यक्रिया गर्नुपर्ने र खर्च धेरै लाग्ने भएकाले उपचार गर्न नसकेको देवीप्रसादले गुनासो गर्नुभयो ।
सुरुमा अपाङ्गका तथा असहायका नाममा सरकारबाट मासिक रु.५००/५०० पाउने गरे पनि विगत केही वर्षदेखि त्यो सुविधा पनि नपाएको देवीप्रसादले बाताउनुभयो ।
अटुटरुपमा पिसाब बगिरहने भएपछि उनका साथीहरुले छिछी र दुरदुर गर्ने गरेको उनी बताउँछिन् । आफ्नो यस्तो समस्या कहिल्यै पनि नहटेपछि आफूलाई दैनिक जीवनमै निकै अप्ठयारो भएको उनी बताउँछन् ।
“विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिने इच्छा भए पनि पिसावको समस्याका कारण संलग्न हुने इच्छालाई कुण्ठित गरेर राख्नुपर्ने बाध्यता रहेको छ”- पार्वतीले भनिन् ।
विद्यालयका प्रधानाध्यापक प्रेमकुमार लामिछानेका अनुसार किशोरीको यस्तो खालको समस्याले उनको दैनिक पठनपाठनमा समस्या परेको बताउनुभयो ।
विद्यालयमा अन्य विद्यार्थीहरु गौतमसँग सँगै बस्न अप्ठयारो मान्नेगरेका छन् । ‘हामीले भेदभाव गर्नुहुँदैन, यस्ता खालका बिरामीहरुलाई मायाममता गर्नुपर्दछ भनेर गौतमको मनोबल घट्ने काम सकेसम्म गर्न दिएका छैनौ ‘-प्रअ लामिछानेले भन्नुभयो ।
आमा टीकाकुमारी भन्नुहुन्छ – ‘घरमा बिहान बेलुका छाक टार्ने खर्च पनि छैन, के गर्ने ? साह्रै समस्यामा परिया,ेे हामी दुःखी गरिबलाई नै दैवले पनि यस्तो पारिदियो ।’

पर्बत प्रबासी समाज दक्षिण कोरियाको सूचना

२००९ नोवेम्बेर ०१ तारिक पर्बत प्रबासी समाज दक्षिण कोरियाको नियमित बैठक बसी आउदो २०१० फेब्रुरी १४ तारिक कोरियाको दोस्रो महान चाड सलनालमा प्रदर्शन गर्न गैरहेको सलनाल पर्बत स्वस्कृतिक सौगात २०१०" तयारीको लागि कलाकार छनोट, हलको व्यवस्था र टिकेट उपर निर्णय पारित गरेको छ
साथै यहि दिसेम्बेर ०६ आइतबार सम्पूर्ण पर्बतेली साथीहरुको उपस्थितिमा साधारण सभा राखी केहि रिक्त स्थानहरुमा नायाँ सदस्यहरु चयन गर्दै आगामी सल्नालमा हुने पर्बतको कार्यक्रममा चिट्टा कार्यक्रम कुन संघ लाई दिने? भन्ने बारेमा पनि पूर्ण निर्णय गरिने जानकारी गर्दछौ
उक्त बैठकमा पर्बतेली साथीहरुको उपस्थितिकी लागि अनुहरोद गर्दछौ
स्थान : सदेमुं स्टेशन गेट नो. २ (यम टि यु ओफिस ) ट्रेन ५
मिति - देसेम्बेर ०६ आइतबार दिनको १ बजे

पर्बत प्रबासी समाज दक्षिण कोरिया

Saturday, November 7, 2009

स्वाइनफ्लु रोक्न उच्च सतर्कता



नयाँ पत्रिका

पर्वत, २० कात्तिक

पर्वतमा नौ दिनदेखि फैलिएको स्वाइनफ्लुले महामारीको रूप लिएको छ । १० कात्तिकदेखि नै प्रकोप फैलिए पनि बिहीबारसाँझ मात्र स्वाइनफ्लु भएको पुष्टि भएको हो । अहिले सदरमुकाम कुस्माबजारलगायत वरपरका क्षेत्रमा स्वाइनफ्लुको त्रास बढेको छ ।

सदरमुकामको कालीगण्डकी एकेडेमीका विद्यार्थीमा पहिलोपटक देखिएको प्रकोप अन्य विद्यालयमा समेत फैलिएको थियो । विद्यालयसँगै नेपाल आर्मीमा पनि सो प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लामा तीन हजारभन्दा बढी बिरामी विभिन्न क्लिनिक र अस्पतालको सम्पर्कमा आएका छन् ।

स्वाइनफ्लु देखिएपछि शुक्रबार दिउँसो बसेको सर्वपक्षीय भेलाले उच्च सतर्कताका लागि विभिन्न सुझाब तथा उपाय सार्वजनिक गरेको छ । भेलाले बढी भीडभाड हुने स्थल, सभासम्मेलन, भेलागोष्ठी नगर्ने, एक सातासम्मका लागि सदरमुकामका सम्पूर्ण विद्यालय बन्द गर्ने, माक्सको प्रयोग गर्नेलगायतका निर्णय गरेको छ । यसअघि पनि गत सोमबारदेखि आइतबारसम्म सदरमुकामका विद्यालय बन्द गरिने निर्णय गरिएको थियो ।

रुघाखोकी, ज्वरो आउने, घाँटी दुख्ने र टाउको दुख्ने लक्षण देखिएपछि १२ जनाको नमुना परीक्षण गर्दा नौजनामा संक्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमितमा पाण्डेमिक इन्पलुएन्जा 'ए' एच१एन१ संक्रमण भेटिएको बिहीबार सार्वजनिक गरेको थियो । नमुना परीक्षणमा संक्रमण देखिएका सेनाका सैनिक जवान र विद्यार्थीमा रोग सामान्य बनेको र काममा फर्किएको अस्पतालका प्रमुख डा. झलक शर्मा गौतमले बताए । संक्रमितका नाम भने अस्पतालले सार्वजनिक गरेको छैन ।

पर्वत जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा आएका बिरामीमध्ये भर्ना गर्ने अवस्थाका बिरामी नआएको डाक्टर गौतमले जानकारी दिए । महामारी क्रमशः नियन्त्रणतर्फ आइसकेको उनको भनाइ छ ।

उता बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यका साथ सदरमुकाम केन्द्रीत बनेका अभिभावक विद्यालय बन्द भएर बालबालिकासँगै गाउँ र्फकन थालेपछि संक्रमण गाउँतिर समेत फैलिने चिन्ता बढेको छ । अन्य समुदायमा समेत संक्रमण फैलिन गएमा अस्पतालमा आवश्यक जनशक्तिसँगै औषधिको समेत अभाव पैदा हुने गौतमको भनाइ छ । 'संक्रमणले गाउँ च्याप्न नपाओस्,' गौतमले भने, 'यदि नियन्त्रण गर्न सकिएन भने जिल्लामा महामारीसँगै विकराल पैदा हुनेछ ।'

यता जिल्लाबाट निर्वाचित भएका सभासद्ले संक्रमण देखिएकोमा चिन्ता व्यक्त गरेका छन् । जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित सभासद् अर्जुनप्रसाद जोशी र २ का गुणाखर बस्यालले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।

Friday, November 6, 2009

श्रीमती र सालीको हत्यापछि आत्महत्या

दार्चुला, कात्तिक २० -
दार्चुला जिल्ला सदरमुकामबाट ११ कोस पूर्वमा पर्ने घुलिगडा गाविस वडा नं.७ रैचुका गोविन्दसिंह धामीले आफ्नी श्रीमती र सालीलाई गोली हानी मारेपछि आफूले पनि आत्महत्या गरेका छन्।
सालीसँग विवाह गर्ने प्रस्ताव उनले अस्वीकार गरेपछि आफ्नी २० वर्षीया श्रीमती माना धामी र १८ वर्षीया साली सुरमती ठगुन्नालाई गोली हानी मारेपछि २७ वर्षीय गोविन्दसिंहले आत्महत्या गरेका हुन्।

गोविन्दसिंहले कात्तिक १९ गते बिहान घाँस काट्न गएकी सालीलाई खरबारीमै छातीमा दुई गोली हानी हत्या गरेका थिए। सालीलाई गोली हानेर घरमा आएपछि घरआँगनमा श्रीमतीलाई समेत गोली हानी हत्या गरेका थिए।


अभियुक्तले घरमा झगडा भएपछि आफ्नी आमा जसुलीदेवी र छोरीलाई समेत घाइते बनाएका थिए। घटनाको छानबिन गर्न इलाका प्रहरीचौकी लटिनाथ, प्रहरीचौकी बलाच र दल्लेकबाट हिजै प्रहरी टोली घटनास्थल पुगिसकेको र जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ। रासस

पर्वतका शिक्षण संस्था एक साता बन्द

दुर्गाप्रसाद शर्मा, (पर्वत)
पर्वतमा डेढ सातायता माहामारीको रूपमा फैलिएको स्वाइनफ्लु नियन्त्रणका लागि जिल्लामा र्सतकता अपनाउने निर्णयभएको छ।

सदरमुकाम कुस्माबजारमा संक्रमणको रूपमा देखिएको स्वाइनफ्लु गाउँगाउँमा समेत पुग्न सक्ने खतरालाई मध्यनजर राख्दै थप एक हप्ता सदरमुकाम कुस्माबजारका शिक्षण संस्थाहरू बन्द गर्ने निर्णयभएको छ। कार्तिक १० गतेदेखि महामारीका रूपमा ज्वरो फैलिएपछि साता पहिलेबाटै विद्यालयहरू बन्द गरिएका थिए।

रुघाखोकी र ज्वरोका बिरामीहरूमा स्वाइनफ्लुको जीवाणु भेटिएपछि शुक्रबार दिउँसो बसेको र्सवपक्षीय बैठकले बढी भीडभाड हुने स्थल, सभासम्मेलन, सिनेमा हलमा सिनेमा नचलाउन, भेला गोष्ठीसमेत नगर्न अनुरोध गर्ने निर्णयपनि गरेको छ।

गाउँगाउँमा समेत संक्रमणको खतरा रहेकाले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीलाई समेत तयारी हालतमा राख्ने निर्णयपनि भएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो। केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मीसमेत मगाउने निर्णयभएको छ।

जिल्लामा अहिलेसम्म ३ हजार जनामा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि १२ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो। पहिले बालबालिकामा मात्रै देखिएको संक्रमण अहिले सबै उमेर समूहमा देखिएको छ। नमुना परीक्षणमा संक्रमण देखिएका सैनिक जवान र विद्यार्थीहरूमा रोग सामान्य बनेको र काममा फर्किएको अस्पतालका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो।

पर्वत जिल्ला अस्पताल तथा निजी स्वास्थ्य संस्थामा आएका बिरामीहरूमध्ये अहिलेसम्म कसैलाई अन्य रिफर गर्नु नपरेको र अस्पतालमा भर्ना गर्ने अवस्था नआएकाले महामारी क्रमशः नियन्त्रणमा आइसकेको उहाँले बैठकमा जानकारी दिनुभएको थियो। ‘रोग समुदायमा फैलिएको र संक्रमण दर बढी भएकाले यसलाई रोक्नका लागि सबै जना र्सतर्क हुनुपर्ने अवस्था छ’ -डा. गौतमले भन्नुभयो। उहाँले चाडबाडमा अन्यत्र जाने र आउनेहरूबाट संक्रमण फैलिएको अनुमान गरिएको बताउनुभयो।

यसैबीच डेढ हप्तादेखि पर्वत, गोरखा र बागलुङमा फैलिएको भाइरल स्वाइनफ्लु अर्थात् एचवान एनवान २००९ पान्डेमिक भएको सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मीको टोली खटाउन लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडी ठाकुरले बताउनुभयो।

रोग नियन्त्रण महाशाखाले हाल फैलिएको महामारी नियन्त्रणका लागि पहल गरिरहेको र थप अध्ययन अनुसन्धानका लागि महाशाखाका संयोजक डा. तीनकरीको संयोजकत्वमा पाँच सदस्यीय चिकित्सक टोली शनिबार गोरखा, पर्वत र बागलुङका लागि खटाएको डा. ठाकुरले बताउनुभयो। उहाँले सम्पूर्ण स्वास्थ्य संस्थालाई गम्भीर प्रकृतिका बिरामीका लागि तत्काल उचित व्यवस्था गर्नसमेत निर्देशन दिइसकेको नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।