
नयाँ पत्रिका
बाजुरा, ७ मंसिर
बिहान-बेलुकाको छाक टार्न नसकेपछि खाद्य संस्थानमा चामल माग्न गएका सर्वसाधारण प्रहरीको लाठी खाएर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । चामलका लागि प्रदर्शन गर्ने ११ स्थानीयवासी र पाँच प्रहरी घाइते अस्पतालमा छन् ।
भोकमरी पीडित बाजुरावासी खाद्य संस्थानले चामल बाँडिरहेको खबर पाएपछि सदरमुकाम पुगेका थिए । तर, दिनभर लाइन बसेपछि कर्मचारीले चामल सकियो भन्दै गेट बन्द गर्न खोजेपछि झडप भएको थियो ।
चामलका लागि सर्वसाधारण प्रदर्शनमा उत्रिएपछि नियन्त्रणका लागि प्रहरी परिचालन भएको थियो । चामलका लागि सर्वसाधारणको लाइन लागेको थियो, तर चामल सकियो भन्ने खबर पाउनासाथ सर्वसाधारणको लाइन जुलुसमा परिणत भएको थियो ।
झडपमा घाइते भएकाको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको छ । आइतबार दिउँसोबाट सुरु भएको झडप रातिसम्म जारी थियो ।
चामल नपाएको झोँकमा आक्रोशित सर्वसाधारणले नाराजुलुस गरिरहेका वेला जुलुसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा १५ जना घाइते भएका छन् ।
घाइतेमा सुना चुदारा र चक्रराज जोशी गम्भीर छन् । उनीहरूको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या बढी भए पनि सम्पूर्णको नाम खुल्न सकेको छैन ।
संस्थानले प्रतिव्यक्ति पाँच किलो चामल वितरण गरिरहेको थियो । बाजुराको उपभोक्ताले १० देखि १५ किलोसम्म चामल पाउनुपर्ने माग गरिरहेका थिए । तर, दिउँसो नै चामल सकियो भन्दै खाद्य संस्थानका ढोका बन्द भएपछि सर्वसाधारणको प्रदर्शन सुरु भएको थियो ।
जिल्ला कृषि विकास कार्यालय बाजुराले उत्पादनमा ८० प्रतिशत ह्रास आएकाले यो वर्ष आवश्यक खाद्यान्न पुर्याउन नसक्ने घोषणा गरिसकेको छ । जिल्लाको उत्पादनमा ह्रास आएको बेला खच्चर पनि बिरामी भएर मर्न थालेपछि जिल्लामा खाद्य संकट देखिएको कृषि विकास कार्यालयको भनाइ छ ।
यही बेला जिल्लामा चामल ढुवानी गर्ने खच्चर मरिरहेका छन् । तीन सातायता जिल्ला आएका ३२ खच्चर अज्ञात रोगले मरेका थिए । जीवित खच्चर पनि तिनका साहुले सुरक्षाका लागि भन्दै परिचालन गरेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले भने खच्चरको अभाव भएपछि हवाईमार्गबाट खाद्यान्न संकट टार्ने बताएका छन् । 'हामी अहिले (आइतबार राति) मात्र सर्वदलीय बैठक बसेका छौँ, अब हवाईमार्गबाट पाँच सय क्विन्टल चामल मगाउने निश्चित भएको छ,' उनले भने । प्रजिअ निरौलाले घाइतेका उपचार जिल्ला स्वास्थ्यमा भइरहेको पनि बताए ।
प्रजिअले पाँच सय क्विन्टल चामल मगाउने घोषणा गरेका छन् । जबकि नेपाल खाद्य संस्थानको बाजुरा मार्तडी शाखा र कोल्टी डिपोमा हप्ताको दुईपटक मात्र बिक्री गर्दा पनि ६ देखि आठ हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।