Suchanasansar.com, मंगलवार, ज्येष्ड ११, २०६७
अमेरिकास्थित संसारकै ठूलो व्यावसायिक परामर्शदाता कम्पनी प्राइसवाटरहाउस कुपर्स तथा सिएससि एन्ड कम्पनीका प्रतिनिधि प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मासँग मिलनमणि शर्माले पिरामिड ढाँचाको नेटवर्क मार्केटिङ र युनिटीका बारेमा गरेको छलफलको सार :
नेटवर्क मार्केटिङ व्यवसाय सम्बन्धमा तपाइँको धारणा के छ?
पिरामिड शैलीको व्यावसायिक ढाँचा दिगो हुँदैन। संसारभर यस्तो व्यवसाय टिकाउ हुँदैन भन्ने पुष्टी भइसकेको छ। कसैले यस्तो व्यवसाय चलाइरहेको छ भने उसको चासो अल्पकालीन लाभ (उसलाई दिगो व्यवसाय गर्नुछैन मात्रै हो वा अज्ञानतावश गरिरहेको छ (यो ढाँचाको सिमितता बारे जानकारी छैन) भन्ने बुझ्नुपर्छ। यस्तो व्यवसाय चलाउने धेरैले नगद प्रवाह र नाफालाई एउटै हो भन्ने बुझेका हुन्छन्। नाफा र नगद प्रवाह दुई अलग कुरा हुन्। नगद प्रवाह भनेको सेवा तथा वस्तु वा दुवै ग्राहकलाई उपलब्ध गराउने दायित्व पूरा गर्न संकलन गरिएको रकम हो। नाफा त्यस्तो दायित्व पुरा गरिसके पछि बचेको रकम हो। तर नेटवर्क मार्केटिङ सञ्चालकले संकलित रकमलाई नै नाफाको रुपमा व्याख्या गरेका हुन्छन्। उनीहरूले संकलित रकमका आधारमा कमिसन बाँडेका हुन्छन्। उनीहरूको सञ्जालको विभिन्न तहमा पुग्ने भएकाले यस्तो कमिसनको रकम ठूलो हुन्छ। यहि पैसालाई सञ्चालकले व्यवसाय चलाउनका लागि प्रयोग गरेका हुन्छन् र यसैबाट नाफा छुट्याइएको हुन्छ। यस्तो ढाँचामा समाजको तल्लो तहसम्म मार्केटिङगरिएको हुन्छ। उनीहरूले गर्ने बाचा र बाँड्ने कमिसनका कारण सुरुमा ग्राहक (भविष्यमा मार्केटिङ गर्ने सहायक) को संख्या उच्च दरमा बढ्छ। यसको अर्थ सुरुमा आम्दानी उच्च हुन्छ र खर्च पनि उत्तिकै। तल्लो तहमा हुने ग्राहकको संख्या माथिल्लो तहका भन्दा निकै धेरै हुन्छ। त्यसैले माथिल्लो तहकाले बढी लाभ उठाउँछन। तर व्यवसाय नै टिकाउ नहुने भएकाले वास्तविक रुपमा लाभान्वित हुने को संख्या निकै थोरै हुन्छ। तीनीहरूले रकम गुमाउने जोखिम उच्च हुन्छ।
यो व्यवसायमा माथिल्ला तहकाले राम्रो फाइदा उठाइरहेका हुन्छन् र तल्ला तहकालाई पनि त्यसै गर्न प्रोत्साहित गरिरहेका हुन्छन्। यसरी यो व्यवसायको प्रत्येक तहमा पानीको फोकाजस्तो टिकाउ नहुने अवस्था सिर्जना भएको हुन्छ। संसारभर धेरै मार्केटिङ व्यावसायिक ढाँचाहरू छन, यसमा पिरामिड शैलीको मार्केटिङको स्थान कहाँनेर छ?
पिरामिड शैलीको मार्केटिङले आफ्नो दीर्घकालीन दायित्व पुरा गर्न सक्दैन त्यसैले यो संसारमा कहीँ पनि सफल भएको छैन।
कुन अवस्थामा यो व्यवसाय टिकाउ हुनसक्छ?
सहि तरिकाले व्यवस्थापन गर्ने हो भने कम्पनीले वस्तु बिक्रीका लागि यो विधि अपनाउन सक्छन जहाँ ग्राहकप्रति उसको कुनै दीर्घकालीन दायित्व हुँदैन। यसमा ग्राहकले तुरुन्तै वस्तु प्राप्त गर्छ र कम्पनीसँग उसले यसभन्दा बढी आशा गर्दैन। यसमा व्यवसायको आकार फैलँदै जाने र प्रविधिको विकासको कारण वस्तुको मूल्य घट्दै जान्छ तर कम्पनीले पहिल्यै मूल्य तय गर्ने हुनाले फाइदा हुन्छ। यसबापत भएको फाइदा मार्केटिङको
हरेक तहमा रहेकालाई बोनस, लाभांश वा कमिसनको रुपमा बाँडन सकिन्छ। तर यो ढाँचामा पनि कम्पनीले भविष्यका लागि वा दीर्घकालीन दायित्व स्वीकार गर्यो भने धराशायी हुन्छ।
ग्राहकले युनिटीका एजेन्टसँग बसेर कम्पनीले आफ्नो दायित्व कसरी पुरा गर्न सक्छ, कसरी टिकाउ हुन्छ, त्यति धेरै कमिसन बाँड्ने कम्पनीले नाफा कसरी गर्छ भन्ने जस्ता सहि प्रश्न गरे भने यो व्यवसायको त्रुटी १५ मिनटमै पहिल्याउन सक्छन्। आँखा चिम्लेर नलाग्ने हो र तिनीहरूले गरेका वाचा कसरी पूरा हुन्छन् भन्ने तर्कपूर्ण हिसाबकिताब एजेन्टसँग गर्ने हो यो ढाँचाका कमजोरी तुरुन्तै थाहा हुन्छ।
तपाईँ किन यस्ता कम्पनी धराशायी हुन्छन् भन्नु हुन्छ?
युनिटी कै उदाहरण लिउँ, कम्पनीले १३ प्रतिशत भ्याट तिरेको छ। कम्पनीको कार्यालय, अस्पताल, कर्मचारी तथा नेटवर्क सञ्चालनमा खर्च हुन्छ। यसको थप ५ प्रतिशत लागत हुन्छ। यसबाहेक मार्केटिङको सबै तहमा कम्पनीले कमिसनका रुपमा रकम बाँडेको हुन्छ (कम्पनीका प्रबन्ध निर्देशकका अनुसार यो करिब २० प्रतिशत हुन्छ)। कम्पनीले ग्राहकलाई वार्षिक १० प्रतिशत प्रतिफल दिने थप वाचा गरेको छ। यसबाहेक कम्पनीले साँवा पनि फिर्ता गर्नुपर्छ। यस्तो खालको ठूलो संरचनामा चुहावट पनि उत्तिकै हुन्छ। उसले ग्राहकबाट एकपटक मात्रै रकम संकलन गर्छ तर धेरै किसिमका प्रतिफल दिने बाचा गरेको हुन्छ।
कम्पनीले ग्राहकबाट संकलन गरेको रकम जस्ताको तस्तै राख्नसके, कोषको उचित परिचालन गर्न सके र कम्तिमा पनि वार्षिक ५० प्रतिशत प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न सके मात्र यो व्यवसाय संभाव्य हुन्छ। तर अहिले को खुला बजार प्रतिस्पर्धामा संसारको कुनै पनि कुनाको कम्पनीलाई यस्तो उच्च लागतमा लामो समयसम्म टिकाइ राख्न सकिँदैन।