Thursday, November 12, 2009
असिना तर्काउने लामा !
पर्वतको बाजुङ गाउँमा मन्त्रको शक्तिले असिना-पानी रोकिदिन्छु भनेर लामाले दुई लाखबराबरको अवैधानिक कर उठाउँछ, लामा राख्ने निर्णय प्रमुख दलहरूको साझा बैठकले गर्छ
आजदेखि मंसिर लाग्यो । किसानहरूको खेतीबाली थन्काउने काम लगभग सकिइसक्यो । अब पर्वत बाजुङका घरघरमा 'तन्त्रमन्त्र' जान्ने लामा थैलो बोकेर 'कर' उठाउन आउनेछ । उसले प्रत्येक घरबाट एक-एक पाथी धान, एक-एक माना चामल, दाल र गेडागुडी, ताजा तरकारी, फलफूल, कुचोका लागि अमि्रसो र बाबियो जम्मा गर्दै हिँड्नेछ । यतिविधि कर जम्मा गर्न उसलाई गाउँका दुईजना कटुवालहरूले सघाउनेछन् । पन्ध्र सयभन्दा बढी घरकुरिया भएको बाजुङ गाउँबाट उसले अढाई लाख जति रकमबराबरको अन्नबाली बटुल्नेछ । यो उसको एक महिनाको 'पारिश्रमिक' हो ।
एकै महिनामा दुई-अढाइ लाख कर ! यो 'कर' असिना-पानीबाट धानबाली जोगाइदिएबापतको हो । 'तन्त्रमन्त्र' र 'फू-फा' गरेर उसले असिना-पानी रोकिदिने दाबी गर्छ । र, बाजुङवासीले त्यही दाबीलाई वैज्ञानिक सूत्रजस्तो विश्वास गर्छन् । अनि, प्रत्येक वर्ष गाउँलेहरूले पोखरा बस्ने बौद्धमार्गी लामालाई गाउँमा निम्त्याएर असिना रोकिदिन अनुरोध गर्छन् । लामा बाजुङ आउँछ र आफ्नै विधि र नियम बनाउँछ । ऊ गाउँको कोटको अग्लो डाँडामा बसेर पूजापाठ गर्छ, शंख फुक्छ, मन्त्र जप्छ । प्रत्येक वडा र टोलमा 'ऊँ मणि पद्ममे हुँ' लेखिएका चक्र -फिरफिरे)हरू बाँसको लिंगोमा गाड्छ ।
लामाले गाउँलेहरूले अनिवार्य पालना गर्नैपर्ने केही नियमहरू बनाउँछ । ऊ कोटमा बसुन्जेलको एकमहिने अवधिमा कमेरोले घर पोत्न पाइने छैन, कर्कलो काट्न पाइने छैन, मस्यौरा पार्न पाइने छैन, देउसी-भैलो खेल्न पाइने छैन, पीङ खेल्न पाइने छैन, मादल बजाउन पाइने छैन, सुसेल्न पाइने छैन आदिआदि । यी नियम उल्लंघन गर्न कसैलाई पनि अनुमति हुँदैन । अनि, असिनापानी पक्कै रोकिन्छ त ? कुनै वर्ष संयोगले असिनै पर्दैन । कुनै वर्ष असिनाले खेती खायो भने लामाले 'कसै न कसैले, कहीँ न कहीँ नियम तोडेको' आरोप लगाउँछ । उसका मतियारहरूले 'होमा हो' मिलाउँछन् । जसरी पनि उसको 'ठग-अभियान' सफल हुन्छ । लामाप्रथा कहिलेदेखि सुरु भयो, कुनै रेकर्ड छैन । सबै भन्छन्, 'धेरै पहिलेदेखि ।'
यस्तो काम कसको अगुवाइमा हुन्छ त ? पहिलेपहिले गाउँ विकास समितिले नै औपचारिक रूपमा लामा राख्थ्यो । अहिले गाउँमा क्रियाशील प्रमुख दलका प्रतिनिधिहरूको बैठकले लामा राख्ने निर्णय गर्छ । खरो क्रान्तिकारी ठानिएको माओवादी पनि 'मन्त्रबाट असिना रोक्ने' परम्पराको अभियन्ता बनेको छ । तीन-चार वर्षयता उसले लामाको विरोध गर्ने स्थानीय युवाहरूलाई सघाउनुको सट्टा आफ्नै पार्टी सदस्यसहितको समिति बनाउँछ र लामालाई स-सम्मान 'कर' बुझाउन जनतालाई आग्रह गर्छ । यस वर्षदेखि पार्टीहरूले 'कर'सम्बन्धमा नयाँ निर्णय गरेका छन्- अब किसानले धानको सट्टा त्यसको मूल्यबराबरको रुपैयाँ लामालाई तिर्ने ।
संसार एक्काइसौं शताब्दीमा प्रवेश गर्यो भनिन्छ । अहिलेको युग विज्ञान-प्रविधिको हो पनि भनिन्छ । अन्धविश्वास र रुढिवादका जमाना गए भनेर भाषण दिइन्छ । तर, बाजुङमा नयाँ नेपालका नयाँ पार्टीहरू नै 'मन्त्र' पढ्नेले असिना थामिदिन्छ भनेर जनतालाई अवैधानिक कर तिर्न बाध्य पारिरहेका छन् । विगत छ वर्षदेखि 'लामाप्रथा' हटाउने सामाजिक अभियानको नेतृत्व गरेको संगीतपुर सचेतना केन्द्रले यसपटक पनि 'कर' नतिर्न किसानहरूलाई आग्रह गरेको छ । तर, पार्टीहरू उसको अभियानलाई खिसीटिउरी गर्छन् । केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले भने, 'दुई वर्षसम्म त हाम्रो दबाबमा लामा हटेको पनि थियो । यसपालि फेरि राखिएको छ । हामीले सबै पार्टी प्रतिनिधिहरूलाई तुरुन्तै हटाउन भनेका छौँ, तर उनीहरूले वास्ता गरेका छैनन् ।'
बाजुङमा खान-लाउन नपुग्ने परिवारहरू थुप्रै छन् । स्कुल जान नपाएका बच्चाहरू त्यत्तिकै छन् । आधारभूत आवश्यकताको अभावमा जीवन बाँच्नेहरूको पीडा उस्तै छ । अवसर नपाएर खुम्चिनेहरूको संख्या पनि त्यहाँ कम छैन । तर, हाम्रा पार्टीहरू किसानको मिहिनेत बटुलेर लामालाई पोस्छन् । पञ्चायतदेखि केही ठालु-मुखियाले लामाबाट गाउँभरिबाट अन्न संकलन गराउने र उसलाई अलिकति मात्रै दिएर बाँकी आफँैले राख्ने गर्थे । अहिले पनि लामा राख्ने निर्णय गर्ने समितिलाई लामाले एउटा बोको 'भूमे पुज्ने' बहानामा खुवाउने गर्छ । भित्री रूपमा यस्ता दलाली र लेनदेन कति हुन्छन्, सोझा किसानलाई सबै थाहा छैन ।
पार्टीहरूकै सल्लाह र मिलेमतोमा यस्ता अन्धविश्वासी प्रथालाई निरन्तरता दिइएको छ । जबर्जस्ती अवैधानिक कर उठाएर लामालाई बुझाउन किसानलाई पार्टीहरूले नै बाध्य पारेका छन् । यो रोक्ने कसले हो ? जिल्ला प्रशासन कार्यालयले यतातिर ध्यान दिनुपर्ने हो कि ? स्थानीय युवा र किसानहरूको असहमति हुँदाहँुदै लामा राख्न बाध्य पार्ने त्यहाँका पार्टी समितिलाई केन्द्र पार्टीले कुनै निर्देशन दिनुपर्ने हो कि ? कि नयाँ नेपालमा यस्ता परम्परा जोगाइरहने हो ?
गण्डकी-धौलागिरितिर एउटा लोकगीत प्रचलित छ-
देउपुरको जस्तो खेती र पाती, बाजुङको जस्तो गाउँ
उराठ लाग्दो दुर्लुङको डाँडो, मोहनी लाग्ने पाङ !
अहिलेको संसार शिक्षा, सूचना, वैज्ञानिक चेतना र नयाँनयाँ विकासका खुड्किलाहरू चढ्दै छ । तर, बाजुङ गाउँ लामासहितको उही पुरानै 'बाजुङको जस्तो गाउँ' कहिलेसम्म रहिरहने हो ?
Subscribe to:
Posts (Atom)