Friday, June 25, 2010

सम्झनामा नागासाकी

आज अगस्ट ९ । अर्थात् नागासाकी डे ।
 सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाद्वारा दोस्रो अणुबम खसालिएको दिन । अध्ययनक्रममा नागासाकी विश्वविद्यालयमा साढे ६ वर्ष बिताएका डा. खड्ग केसीले आज सबेरै उठेर एकपटक अणुबमले ध्वस्त पारिएको नागासाकी र बम आक्रमणमा बाँचेका आफ्ना जापानी साथीलाई सम्झे । अनि, आजै प्रकाशित जापानका प्रमुख दैनिक पत्रिकाहरू इन्टरनेटबाटै हेरिसके । हरेक वर्ष उनी हिरोसिमामा आणविक बम खसालिएको अगस्ट ६ तारिख र नागासाकीमा खसालिएको अगस्ट ९ तारिखका दिन आणविक अस्त्रमुक्त विश्वका लागि कामना गर्दै आफू पुगेका ती दुई अभागी सहरको सम्झना गर्छन् ।

जापानबाहिर अणुबमले ध्वस्त दुई सहरबारे थुप्रै किस्सा र किंवदन्ती सुनिन्छन्- निकै उराठ लाग्ने मरुभूमिजस्ता छन्, जताततै खरानी-खरानीको थुप्रो मात्रै छ, त्यहाँ कतै पनि झारपात र रूखबिरुवा पलाउँदैनन् आदि । जापान पुग्नुअघि डा. केसीले पनि यस्तै सुनेका थिए र उनलाई यस्तै लाग्थ्यो । सन् २००२ मा छात्रवृत्ति पाएर राजनीतिशास्त्र उच्च अध्ययनका लागि जब उनी पहिलोपटक नागासाकी ओर्ले, दृश्यले सुनिएका किस्सालाई झुटा साबित गरिदियो । नागासाकी पुनर्निर्माण, उन्नति र आधुनिकीकरणले आधा शताब्दीअघिको संहारकारी घटनालाई झन्डै बिर्साइदिँदोरहेछ । अणुबमले तहसनहस पारिएको सहर जापानीले पहिलेको तुलनामा अझ व्यवस्थित र अझ सुन्दर बनाइसकेका छन् । त्यो देखेर नेपालबाट गएका यी जिज्ञासु विद्यार्थी एकमन त दंग परेका थिए । तर, बिस्तारै उनले जापान अहिलेको पुस्तासम्म तत्कालीन अणुबम आक्रमणको प्रभाव गढेको थाहा पाए ।

'नागासाकी डे' को अवसरमा हरेक वर्ष नागासाकीमा विशेष कार्यक्रम गरिन्छ । केसी पनि हरेक वर्ष त्यहाँ पुग्थे । 'प्रत्येक चोटिको 'नागासाकी डे'मा म साथीहरूसहित नागासाकी पिस म्युजियममा जान्थेँ,' केसीले भने, 'पहिलोचोटि त हामीलाई हाम्रो विश्वविद्यालयले नै त्यहाँ लगेको थियो ।' म्युजियममा त्यतिवेलाको नागासाकीका विभिन्न दृश्य र भौतिक वस्तु राखिएको छ । बम आक्रमण र त्यसलगत्तैको अवस्था भिडियो स्लाइडमा भत्केका घर, मान्छेका आर्तनाद र चिच्याहट, पोलिएका-डढेका मान्छे, जलिरहेको बस्ती आदि सबै देख्न सकिन्छ । म्युजियमभित्र त्यस्तो दृश्य देख्दा केसीको आङ एकपटक जिरिङ-जिरिङ भयो । उनलाई लाग्यो- एकपटक यी दर्दनाक दृश्य र नागासाकीवासीका पीडासँग साक्षात्कार गराइदिन पाए आणविक शस्त्रास्त्रमा अहिले पनि होडबाजी गरिरहेका मुलुकका आँखा खुल्थे कि !

नागासाकीमा रहुन्जेल केसीले अणुबम आक्रमण र त्यसका प्रभावका बारेमा धेरै जान्ने-बुझ्ने मौका पाए । बम आक्रमणमा परेर बाँच्न सफल भएका (हिबाकुछा) हरूलाई भेटे । दुईजना हिबाकुछा त उनीसँगै एउटै विश्वविद्यालयमा पढ्ने साथी पनि थिए । बम आक्रमणमा आफ्ना अभिभावक र आफन्त गुमाएकाहरू, बमका छर्रा लागेकाहरू, रासायनिक विकीरणद्वारा अनेक रोग लागेकाहरू, त्यतिखेर गर्भमा रहेका र जन्मँदै क्यान्सर रोग बोकेर आएकाहरू आदि पनि जापानमा हजारौँ छन् । 'लुलालंगडाहरू, लठेब्राहरू, सुस्त मनस्थितिका मान्छेहरू पनि जापानमा थुप्रै भेटिन्छन्,' केसीले भने, 'त्यो सबै त्यही बम आक्रमणको प्रभावले भएको हो ।'

दोस्रो विश्वयुद्धताका जापान सबै हिसाबले एकदमै शक्तिशाली राष्ट्र थियो । त्यतिवेलाको निरंकुश र सैन्यवादी राजतन्त्रको साम्राज्यवादी नीति झन्झन् चुलिँदै थियो । दोस्रो विश्वयुद्ध चलिरहँदा अमेरिका युद्धमा सहभागी थिएन, तर नयाँ उपनिवेश खोजिरहेको र शक्तिको मात चढ्दै गरेको जापानले सन् १९४१ मा अमेरिकामाथि पनि आक्रमण गर्‍यो । यसको बदलास्वरूप अमेरिका जबर्जस्ती प्रत्याक्रमणमा उत्रेको थियो । त्यसपछि १९४१ देखि ४५ सम्मको युद्धमा जापानका ६७ सहर ध्वस्त भइसकेका थिए, ३० लाख मान्छे मारिइसकेका थिए । लडाइँ लम्बिरहेका वेला अमेरिकी तत्कालीन राष्ट्रपति ट्रयुमानले 'पोस्टड्याम डिक्लारेसन' बाट जापानलाई चेतावनी दिए, 'जापान ! अब कि आत्मसमर्पण गर, कि योभन्दा कडा आक्रमणको सामना गर !'

तर, जापान पछि हट्ने 'मुड'मा थिएन । 'जापानी जनता त्यहाँको राजतन्त्रप्रति कति अन्धभक्त थिए भने उसका पक्षमा उनीहरू आत्मघाती विमानमा चढेर अमेरिकामाथि आक्रमण गर्न पनि तयार थिए,' केसीले भने, 'नेपालमा राजतन्त्रलाई भगवान्को अवतार मानिन्थ्यो, त्यहाँ त अवतार होइन, भगवानै मान्ने चलन थियो ।' अमेरिकाले त्यति विध्वंसक र नरसंहारकारी अणुबम हान्ला भन्ने जापानले सायद अनुमान पनि गरेको थिएन । त्यसैले उसले आत्मसमर्पणको चेतावनीलाई इन्कार गरिदियो । कतिसम्म भने हिरोसिमामाथि आक्रमण भइसकेपछि पनि जापानले 'शत्रुसँग मुकाबिला गर्ने' घोषणा गर्‍यो । फलस्वरूप दुई प्रमुख सहर तीन दिनको फरकमा खरानी पारिए । हिरोसिमामा एक लाख ६६ हजार मान्छे मारिए, नागासाकीमा ८० हजार । हजारौँहजार घाइते भए, हजारौँहजार अपांग । विकीरणबाट अहिले पनि मान्छे मरिरहेका छन् । नागासाकी ध्वस्त भएको ६ दिनपछि अगस्ट १५ मा मात्रै जापानले आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्धको पनि थान्को लाग्यो ।

बम आक्रमणको पीडा भोग्नेहरू अहिले पनि जापानमा उत्तिकै छन् । खड्ग केसीले नागासाकीमा पनि त्यस्ता थुप्रै मान्छेहरू भेटे, जो अहिले पनि ६५ वर्षअघिको त्यही आक्रमणका देखिने-नदेखिने घाउ बोकेर हिँडिरहेका छन् । माथि भनियो, दुईजना हिबाकुछा (बाँच्न सफल भएका) केसीका साथी नै थिए- ७६ वषर्ीय केइसुके होन्डा र ६७ वषर्ीय हिरोहिको फुकुदा । नागासाकी बम आक्रमणका वेला स्कुले विद्यार्थी रहेका होन्डा केसीसँगै नागासाकी विश्वविद्यालयमा पिएचडी अध्ययन गर्थे । उनीहरूका प्रोफेसर पनि एउटै थिए । फुकुदा पनि केसीसँगै नागासाकी विश्वविद्यालयमा पढ्ने मित्र थिए । फुकुदा बम आक्रमणको समयमा गर्भमा थिए । दुईजना आफ्ना नजिकका यी मित्रहरूबाहेक त्यो घटनामा परेर बाँच्न सफल भएका र त्यसको कुनै न कुनै प्रभाव सहेर बाँचेका थुप्रै जापानीलाई केसीले भेटेका थिए र उनीहरूका अनुभव सुनेका थिए । उनी पहिलो बम आक्रमण भएको सहर हिरोसिमामा पनि चारपटकसम्म पुगेका थिए र हरेकपटक तीन-चार दिन त्यहाँ बसेका थिए ।

केसी नागासाकी पुग्नुको खास उद्देश्य थियो, अध्ययन । तोकिएको समयमा पिएचडी सकेर उनलाई नेपालै र्फकनु थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सरुवा भई आएका उनी त्यतिखेर पृथ्वीनारायण क्याम्पस, पोखरामा राजनीतिशास्त्र पढाउँथे । जापान पुगेपछि पर्वतस्थित आफ्नो गाउँको विद्यालयका लागि सहयोग जुटाउने उद्देश्यले पनि उनले धेरैतिर सम्पर्क गर्न थाले । जसले गर्दा उनले जापानी जीवनशैली र सामाजिक जीवनबारे थप थाहा पाउने अवसर पाए । पहिलोचोटि नागासाकी पिस म्युजियममा सुरक्षित राखिएका वस्तु, फोटोहरू र भिडियो दृश्य हेरेर बाहिर निक्लेपछि केसीको हृदय अणुबम आक्रमणको घटनाले नराम्ररी हल्लाएको थियो । उनले सोचे- यस्तो अमानवीय घटनाका कारण जापानीहरूले अमेरिकाविरुद्ध कस्तो प्रतिशोध साँधिरहेका होलान् ! तर, अनौठो कुरा के रहेछ भने बढीजसो जापानीहरू त उल्टो अमेरिकाप्रति अनुग्रहित पो रहेछन् । 'जापानीहरू कति धेरै सहिष्णु र कति धेरै पोलाइट छन् भने कतै यो नक्कली त होइन जस्तो लाग्छ,' केसीले भने, 'संग्रहालयभित्रको दृश्य देख्दा हामीमा पनि प्रतिशोधको भावना जाग्छ । तर, जापानीहरू प्रतिशोधको भावना देखाउँदैनन् ।' उनले थपे, 'खै, यो पुँजीवादमा भावना पनि ह्रास हुँदै जाँदोरहेछ क्यारे !'

केसीका अनुसार अधिकांश जापानी अहिले पनि अमेरिकाको आक्रमण जापानकै गलत नीतिका कारण भएको हो भन्ने ठान्छन् । मानवअधिकारकर्मी, समाजवादी र राजतन्त्रविरोधी तत्कालीन जापानी राजतन्त्रको साम्राज्यवादी नीतिले गर्दा नै जापानले यति धेरै क्षति बेहोर्नुपरेको हो भन्छन् । 'उनीहरू अमेरिकालाई जिस्काउनै हुँदैनथ्यो, जापानको निरंकुशता र साम्राज्यवादी नीति अझै लम्बिएको भए थप हानी हुन्थ्यो भन्छन्,' केसीले भने, 'केही परम्परावादी जापानीले मात्रै अमेरिकाले माफी माग्नुपर्छ र जापानले अमेरिकासँग बदला लिनुपर्छ भन्ने सोच राख्छन् । केसीका दुईजना हिबाकुछा साथीहरू पनि दुई फरक विचार राख्थे । 'आणविक अस्त्रमुक्त विश्व हुनुपर्छ भन्नेमा चाहिँ सबै जापानी एकमत छन्, त्यसो नभए आउँदो पुस्ताले थप दुःख पाउनेछ भन्ने ठान्छन् उनीहरू,' उनले भने । खड्ग केसीले यस्ता परम्परावादी जापानीहरू पनि देखे, जसले अमेरिकाको खुलेर आलोचना गर्न पनि सक्दैनन् र आफूहरूको गल्ती थियो भनेर माफी पनि माग्दैनन् ।

खड्ग केसी नेपाल फर्किसके । तर, ज्यान यहाँ रहे पनि आफूले साढे ६ वर्ष बिताएको नागासाकी सहरको झल्को उनलाई आइ नै रहन्छ । हिरोसिमा र नागासाकीमा अणुबम खसालिएको दिनमा उनी झन् बढी सम्झन्छन्- जापान बसाइका आफ्ना क्षणहरू । ओहो, शस्त्र होडको घमण्डले आँखा चिम्लँदा जापानले त्यत्रो मानवीय क्षति भोग्नुपर्‍यो, भौतिक संरचना कति ध्वस्त भए कति ! ४० लाख मान्छे मारिए, ७० सहर ध्वस्त भए, विद्यालय-विश्वविद्यालय खरानी पारिए । बम आक्रमणको प्रभाव अहिलेको पुस्ताले पनि भोगिरहेछ । तर, त्यसको जिम्मेवारी न अहिलेसम्म अमेरिकाले लिएको छ, न जापानले नै । नेपाल फर्केपछि पनि जापानका बारेमा गहिरो चासो राख्ने डा. केसीले आफ्ना हिबाकुछा साथीहरू केइसुके होन्डा र हिरोहिको फुकुदालाई पनि सम्भदै भने, 'हाम्रो मित्रराष्ट्र जापानले भोगेको त्रासद घटनाले हामी नेपालीलाई पनि आणविक अस्त्रमुक्त विश्वको पक्षमा उभिन प्रेरित गरेको छ ।'

बुद्धको तालुको हड्डी चीनमा भेटियो

हङकङ, असार ६ - चीनको नानचिङस्थित बौद्ध गुम्बाबाट शाक्यमुनी बुद्धको तालुको हड्डी उत्खनन गरिएको छ। सुनको कफिनमा राखिएको अवस्थामा भेटिएको चट्टानको टुक्रा जस्तो वस्तु बुद्धको तालुको हड्डी भएको चिनियाँ पुरातत्वविद् तथा बौद्ध भिक्षुहरूले पुष्टि गरेका छन्। पूर्वी चीनको च्याङ्सु प्रान्तको राजधानी नानचिङस्थित छिस्या गुम्बामा गत शनिबार बिहान बौद्ध परम्पराअनुसार धुमधामको पूजा आयोजना गरी हड्डी उत्खनन गरिएको समारोहमा सहभागी चिनियाँ बुद्धिस्ट एसोसिएसनका अध्यक्ष मास्टर छुवान यिनले बताए। चट्टानको टुक्रा जस्तो देखिने खैरो रंगको हड्डी सम्राट अशोकको प्यागोडामा राखिएको अवस्थामा भेटिएको थियो। नानचिङ नगर संग्रहालयका उपप्रमुख हुवा रुङलाई उद्धृत गर्दै चाइना डेलीले लेखेको छ, 'मसिना कोष जस्ता छिद्र भएकाले हड्डी मौरीको चाका जस्तो देखिन्छ।'बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष सुए छङ्गले उत्खननको नतिजा बुद्धको तालुको हड्डीसम्बन्धी ऐतिहासिक रेकर्डअनुसार प्रमाणित भएको दाबी गरेका छन्।

सेलिब्रेटीहरुको 'सेक्स रहस्य'

अशोक थापा, असार १०- कला र सीपको अदभूत प्रदर्शनका कारण करोडौं फ्यानहरुको आदर्शपात्र बन्न सफल सेलिब्रेटीहरुको जीवनका कैयौं आयामहरु यस्ता पनि छन् जो तपाइँले कल्पना गरेभन्दा फरक छन्। विश्व रंगमञ्चको माध्यमद्वारा विश्व नै हल्लाउने त्यस्ता व्यक्तिहरुको निजी जीवन पर्दामा देखिने आदर्श पात्रको जस्तै छैन।

यौन मानवजीवनको आधारभूत आवश्यकता भैकन पनि सार्वजनिक जीवन बिताउनेहरुको जीवन कस्तो हुनुपर्छ भन्ने विषय सधैँ विवादको घेरामा छ। सेलिब्रेटीहरु समाजका गहनाको रुपमा ख्याती पाइसकेपछि फ्यानहरुले उनीहरुको जीवनको हरेक पाटोको जानकारी लिन चाहि रहेका हुन्छन्। उनीहरुलाई नजिकबाट हेरिरहेका हुन्छन्।

यस वर्षको एग्जिट म्याजिनको कभर पृष्ठको लागि रुजी हन्टिङटन ह्विटलेले आफ्नो स्तन देखिने दृष्य दिँदैछिन्। त्यसो त उनलाई धेरै फ्यानहरुले स्तन प्रदर्शन गर्न रुचाउने नायिकाको रुपमा चिन्न थालिसकेका छन्। 'ट्रान्सफर्मर ३' चलचित्रबाट मेगान फक्सलाई बिस्थापित गराएकी नायिका रुजीले आफूलाई कसरी वस्तुहरुलाई उत्साहित गर्न सकिन्छ भन्ने जानकारी भएको समेत बताएकी छिन्।

हालैमात्र चर्चित गायिका भेनिसा कार्लटनले आफू द्विलिङ्गिय भएको घोषणा गरेकी छन्। गएको शनिवार एक कार्यक्रममा बोल्दै उनले सो तथ्य सार्वजनिक गरेकी हुन्।

'मैले यो कुरा कहिले व्यक्त गरिँन तर म गौरवशाली द्विलिङ्गी हुँ', करिब १८ हजार दर्शकहरुको माझमा प्रभावशाली पियानोबाधक जोशीलो पाराले भनिन्। गएको अप्रिल महिनामा यसैगरि आफै द्विलिङ्गीय रहस्य बारेमा बोलेकी थिइन्। "ट्रु ब्लड स्टार" एन्ना पक्विनको शैलीलाई अंगाल्दै कार्लटनले यसो गरेकी हुन्।

पछिल्लो समयमा विभिन्न संगीतकर्मीहरुले पनि आफ्नो लिङ्गिय पहिचानको बारेमा खुलेर बताउन थालेका छन्। मार्च महिनामा चर्चित रकस्टार रिक्की मार्टिनले आफु गे भएको बताएका थिए भने मे महिनामा चेली राइटले लेस्विएन भएको स्वीकारेकी थिइन्।