
नयाँ पत्रिका
काभ्रे, २६ कात्तिक
६ वर्षदेखि परपुरुषसँग यौनसम्बन्ध राख्दै आएकी एक महिलाले आफ्नै श्रीमान्को अपहरणपछि हत्या गराएको रहस्य खुलेको छ । आरोपी महिला र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका श्रीमान्को शव अझै फेला परेको छैन ।
श्रीमान्ले आपनो कर्तुत थाहा पाएपछि कुशादेवी-५ की भवानी आचार्यले श्रीमान्को अपहरण गराएकी थिइन् । ५० हजार रुपैयाँ दिएर अपहरण गर्न प्रयोग गरेका अपहरणकारीले भने उनको श्रीमान्को हत्या नै गरिदिएको खबर उनलाई दिएका थिए । भवानीको बयानका आधारमा प्रहरीले उनका सहयोगी लक्ष्मण तिमल्सिनालाई पनि पक्राउ गरेको छ ।
तीन वर्ष मलेसिया बसेर घर र्फकेका भवानीका श्रीमान् ३१ वर्षीय अर्जुन (रामचन्द्र) आचार्य २६ असोजदेखि बेपत्ता थिए । उनको अपहरणपछि हत्यामा उनकै श्रीमतीको मिलेमतोमा भएको रहस्य बुधबार मात्र खुलेको हो ।
भवानीलाई सोमबारसाँझै इलाका प्रहरी कार्यालय बनेपा ल्याइए पनि उनले आफूलाई श्रीमान्को अवस्थाबारे कुनै जानकारी नभएको बताइन् । तर, बुधबार बिहान उनले प्रहरीसँग अपहरण गर्न लगाएको र अपहरणकारीले नै श्रीमान्को हत्या गरेको बयान दिएकी छिन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ऋषिकेश पाण्डेका अनुसार भवानीले श्रीमान् अर्जुनलाई अपहरण गर्न स्थानीय लक्ष्मण तिमल्सिनालाई ५० हजार रुपैयाँ दिएको बताएकी छिन् । तिमल्सिनासँग उनको ६ वर्षदेखि अनैतिक सम्बन्ध रहेको पनि उनको भनाइ छ ।
तिमल्सिनाले बिहान पाँच बजे घरबाट निस्केका अर्जुनलाई घरबाट गाउँतिर जान लागेको अवस्थामा अपहरण गरी अन्य चारजना सहयोगीको मद्दतबाट हत्या गरेको भवानीले बयानमा भनेकी छिन् । 'मैले एक महिनासम्म अपहरण गरेर बेपत्ता बनाउनू, ५० हजार दिन्छु भनेकी थिएँ,' उनले प्रहरी बयानमा भनेकी छिन्, 'तर २८ असोजमा मारिदिएँ भनेर खबर गरे ।' दसैँअगाडिदेखि नै अर्जुनलाई अपहरण गरेर बेपत्ता बनाउने योजना बनाएको उनले प्रहरीलाई बताएकी छिन् ।
प्रहरी निरीक्षक पाण्डेका अनुसार भवानीको बयानका आधारमा तिमल्सिनालाई बुधबारै पक्राउ गरिएको हो । तर, तिमल्सिनाले आफूले अर्जुनको हत्या नगरेको बताएको पाण्डेले जानकारी दिए । 'भवानीले अपहरण गरेर हत्या गर्न लगाएको स्विकारे पनि तिमल्सिनाले स्विकारेका छैनन्,' पाण्डेले बिहीबार नयाँ पत्रिकासँग भने । भवानीले लक्ष्मणसहितका व्यक्तिले अर्जुनको हत्या गरेर कुशादेवी-६ स्थित महादेव मन्दिरनजिकै फालिदिएको बताएपछि बुधबार बिहानैदेखि प्रहरीले अर्जुनको शव खोजी गरिरहेको छ । तर, बिहीबारसम्म पनि उनको शव फेला परेको छैन ।
तीन वर्ष मलेसियामा बसेर गत वर्षमात्र घर फर्केका अर्जुन र भवानीबीच केही समयदेखि आर्थिक हिनामिना र भवानीको अनैतिक सम्बन्धका विषयमा सामान्य झगडा पर्ने गरेको उनका छिमेकी तथा आफन्तले बताएका छन् । बाबुआमासँग छुट्टिएर बस्दै आएका उनका सात र नौ वर्षका दुई छोरा छन् । यसअघि एक दर्जनभन्दा बढी विभिन्न अभियोगमा पक्राउ परिसकेका तिमल्सिना भने आपराधिक चरित्रको व्यक्ति भएको प्रहरी दाबी छ ।
यसरी खुल्यो रहस्य
२६ असोज बिहानैदेखि बेपत्ता भएका अर्जुनका बारेमा उनकी श्रीमती भवानीलाई परिवारका अन्य सदस्य र स्थानीयवासीले पटक-पटक जानकारी माग्दै आएका थिए । उनले 'उहाँ त विदेश जानुभएको छ' भन्दै ढाँट्दै आएकी थिइन् । तर, तिहारपछि उनको घरमा शंकास्पद व्यक्तिको पटक-पटक आवागमन भएको देखेपछि परिवारका सदस्य र गाउँलेले उनीमाथि सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनले विदेश नगएको र २६ गतेदेखि नै अर्जुन हराएको बताइन् । कात्तिकको दोस्रो साता भवानीले श्रीमान् अर्जुन आचार्य हराएकाले खोजी गरी पाऊँ भन्दै प्रहरीचौकी कुशादेवीमा निवेदनसमेत दिइन् ।