Wednesday, October 28, 2009

नेपालमै सोलार कार



बुधवार, 28 अक्टोबर 2009 08:28 नागरिक
नेपालमै सोलार कार

दीलिप पौडेल, बाग्लुङ,कात्तिक ११-बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।

उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।

सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ, त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।

'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।'

कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम लेखाउन पहल गर्छौं,' उनले भने।

केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च गर्नमिल्ने व्यवस्था मिलाइएको छ।

कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।

कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४० दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा प्रदर्शन गरेका थिए।

कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न मुस्किल परेको उनका बाबुले बताए।
राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ सदरमुकाममा बस्दै आएको छ।
उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै थियो।

माओवादी आन्दोलनको "कमाण्डर" प्रचण्ड ,"फिल्ड कमाण्डर" बाबुराम



एस के नेपाल न्यूज सर्भिस
मंगलबार,नोवेम्बर ०३,२००९

एकीकृत नेकपा माओवादीले कात्तिक १५ गतेदेखि थालेको दोस्रो चरणको आन्दोलनको "सर्वोच्च कमाण्डर" पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई तोकेको छ। केही महिनाअघि पार्टीभित्र शक्ति सन्तुलन मिलाउन बहुपदीय प्रणाली अपनाए पनि आन्दोलनको मुखैमा दाहाललाई नै पार्टीको "सर्वेसर्वा" बनाइएको हो।

आन्दोलन चर्किदै जाँदा त्यसको परिचालन तथा निर्देशन गर्न सजिलो होस् भनेर हालै बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले "हेडक्वार्टर" लाई आन्दोलनको अन्तिम अधिकार सुम्पेको हो। पार्टी र जनवर्गीय संगठन र मोर्चालाई एकीकृत गर्नका अध्यक्षले नेतृत्व गर्दा आन्दोलन छरितो हुने माओवादीको निश्कर्ष छ।यसअघि माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिको नेतृत्व पार्टीका तेस्रो वरियताक्रमका बाबुराम भट्टराईलाई सुम्पेको थियो, जसको उपाध्यक्षमा तिलक परिवार, अमिक शेरचन र रामकुमारी यादव, महासचिवमा नेत्रविक्रम चन्द, सचिवमा जनार्दन शर्मा, कोषाध्यक्षमा लेखराज भट्ट र विभिन्न जनवर्गीय तथा मोर्चाका प्रमुखगरी एक सय १७५ सदस्यीय समिति बनेको छ।
आइतबार बेलुका राजधानीमा दोस्रो चरणको आन्दोलन आरम्भ गर्न दाहाल स्वयं रत्नपार्कमा गई राँको बालेका थिए। संयोग नै भनौ, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन परिचालन समितिका संयोजक भट्टराईचाहिं गृह जिल्ला गोरखामा व्यस्त थिए।भट्टराईचाहिं

महिनाको एकपटक गृहजिल्ला जाने नियमित रुटिनअन्तर्गत गोरखा सदरमुकामबाट तीन घण्टा टाढाको बोर्लाङ गाउँमा आमसभालाई सम्बोधन गर्न पुगेको उनीनिकटस्थ स्रोतको दाबी छ। "यहाँ (राजधानीमा) अध्यक्ष स्वयम् उपस्थित हुने भएकोले एक महिनाअघि तय भएको कार्यक्रममा बाबुराम गोरर्खातिर जानुभएको हो।", स्रोतले भन्यो।
यद्यपि, माओवादीले जनआन्दोलनको "फिल्ड कमाण्डर" का रूपमा बाबुराम नै भएको जनाएको छ। "आन्दोलनको रुपलाई विशिष्टकरण गर्न फिल्डमा बाबुरामजीकै नेतृत्वमा मास परिचालन हुनेछ, तर आन्दोलन कसरी लैजाने भन्ने अधिकार केन्द्रीय कार्यालयमा निहित गरिएको छ", दाहालका स्वकीय सचिव विकेश श्रेष्ठले भने।०६२

असोजको चुनवाङ बैठकले दाहाललाई सेना र पार्टी संगठनको सम्पूर्ण अधिकार केन्द्रीकृत गर्ने निर्णय गरेको थियो। त्यसअघि पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले शक्तिको केन्द्रीयकरण गर्दा दुरूपयोग हुनसक्ने खतरा औल्याउँदा उनको दाहालसँग मतभिन्नता सिर्जना भएको थियो। चुनवाङ बैठकमा भट्टराईले ल्याएको लोकतान्त्रिक गणतन्त्रको लाइन दाहालले स्वीकारेपछि भट्टराईले पनि दाहालको केन्द्रीकृत नेतृत्व स्वीकारेका थिए।
आन्दोलनको मुखैमा दाहाललाई दिइएको सर्वोच्च कमाण्डरको अधिकार चुनवाङ वैठकपछि निर्णयसँग मिल्दोजुल्दो छ। त्यसवेला दाहाललाई माओवादी जनमुक्ति सेनाको सुप्रिम कमाण्डरको सँगसँगै आवश्यक परेको वेला एकल निर्णय गर्ने अधिकार दिएको थियो।अहिलेकोमा

फरक यत्ति छ कि, दाहालले आन्दोलनको रणनीति तय गर्नुअघि हेडक्वार्टरमा छलफल गर्नुपर्नेछ, जसमा पार्टीका उपाध्यक्षत्रय मोहन वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा तथा सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटीसँग प्रारम्भिक सल्लाह लिनेछन्। उनीहरू पार्टीको स्थायी समिति सदस्य पनि हुन्। साथै, माओवादीको सैन्य इञ्चार्ज वर्षमान पुन पनि हेडक्वार्टरका सहयोगीका रूपमा रहनेछन्।
माओवादीले दोस्रो चरणको आन्दोलनलाई राणनैतिक प्रत्याक्रमणको दोस्रो योजना भनेर व्याख्या गरेका छन्। माओवादीमा प्रत्याक्रमण भनेको लडाइँ जितिनसकेको तर आफू माथि परेको अवस्था भन्ने बुझिन्छ। यतिखेर उनीहरूले आन्दोलन शान्तिपूर्ण गर्ने बताएका छन्। माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)लाई आन्दोलनका सहयोगका रुपमा अन्य जनवर्गीय संगठन विद्यार्थी, महिला, मजदुर आदितिर पनि छुट्टै "वाईसीएल सेल" गठन गरी त्यसको प्रत्यक्ष कमाण्ड दाहालले गर्नेछन्। सैन्य होइन कि मास केन्द्रीत गर्ने उनीहरूको उद्देश्य छ। २६ र २७ गते दुई लाखजति जमात उपस्थित गराएर सिंहदरबार घेराउ गर्दासम्म राष्ट्रिय सरकार बन्ने वातावरण नदेखिएमा भद्र अवज्ञा गर्ने माओवादीको भित्री योजना छ, जसलाई उनीहरूले गान्धीवादी आन्दोलन स्वरूप नामाकरण गरेका छन्।

चौध वषर्ीया बालिकामाथि सामूहिक बलात्कार

03/11/2009 नरेश खड्का/नयाँ पत्रिका

बझाङ, १७ कात्तिक : स्याँडी गाविस— ८ की एक बालिकालाई दाइ नाता पर्ने सोही गाउँका दुईजनाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सदरमुकाम चैनपुरबाट २३ कोस दक्षिण-पश्चिममा रहेको सो गाउँकी १४ वषर्या बालिका पार्वती बोहरा -नाम परिवर्तन) लाई ४२ वषर्ीय वीरजित बोहरा र ४० वषर्ीय नरबहादुर बोहराले आइतबार राति बलात्कार गरेका हुन् ।
मदिरा-सेवन गरी आएका उनीहरूले आमासित सुतिरहेकी बालिकाको मुख थुनेर बाहिर ल्याएको र आमालाई मार्ने धम्की दिई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । बलात्कार गरेर भाग्ने क्रममा आमा सन्जाले गाउँलेलाई गुहारी उनीहरूलाई समातेर प्रहरीलाई बुझाएको बालिकाका काका मानबहादुर बोहराले बताए ।
सदरमुकाम चैनपुरस्थित प्रहरी कार्यालयमा जाहेरी दिन आएका बोहराका अनुसार दुईवटा हँसियासमेत बोकेर आएका आरोपीहरूले पीडित बालिकाकी आमाले कानमा लगाएको गहना पनि लुछेर लगेका छन् ।
आरोपी दुवैलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको निमित्त प्रहरी नायब उपरीक्षक मिलन बस्नेतले बताए । बलात्कृत बालिकाको स्वास्थ्यपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको र रिपोर्ट आएपछि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए । पीडित बालिकाकी आमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुलुकी ऐनमा १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको प्रमाणित भएमा अभियुक्तलाई आठदेखि १२ वर्षसम्म कैद-सजायको व्यवस्था छ ।

Sunday, October 25, 2009

प्रहरीबाट कार्यालयमै सामूहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको बयान


प्रहरीबाट कार्यालयमै सामूहिक बलात्कारको सिकार भएकी महिला प्रहरीको बयान

प्रहरीसेवामा प्रवेश गर्नुअघि या गरेपछि कहिल्यै मैले मेरो जीवनमा यस्तो बलात्कारजस्तो घटना बेहोर्नुपर्ला भन्ने सोचेकी थिइनँ । मेरो नाम सुनीता (नाम परिवर्तन) हो । पाँच वर्ष भयो, नेपाल प्रहरीमा प्रवेश गरेको । बुटवलमा तालिम लिएँ, दुई वर्ष रामनगर वडाप्रहरी कार्यालयमा बसेँ । तीन वर्षअघि अछाम जिल्ला प्रहरी कार्यालयमा सरुवा भएँ । दुई/तीनजना महिला प्रहरी थियौँ तर सात-आठ महिनाअघिदेखि म एक्लै थिएँ । अरू सबै सरुवा भएर गइसकेका थिए ।

सबैसँग राम्रै सम्बन्ध थियो, व्यावसायिक सम्बन्ध । सबैले सहयोग गरिरहेकै थिए । त्यस्तो मनमुटाब, रिसइबी केही थिएन । यही वैशाख ४ गते एकजना स्थानीय युवकसँग मैले बिहे गरेँ । अन्तरजातीय बिहे भएकाले घर-परिवारले स्विकारिसकेका थिएनन् । त्यसैले मेरा श्रीमान् र म अछाम जिल्ला प्रहरी कार्यालयभित्र क्वार्टरमै बस्थ्यौँ । जिल्ला प्रहरी कार्यालयले पनि मेरा श्रीमान्लाई जिप्रकाभित्र क्वार्टरमा बस्न सहयोग नै गरेको थियो ।

नवमीको दिन (असोज ११ गते) हो, डिएसपीसाप घरबिदामा हुनुहुन्थ्यो । इन्स्पेक्टरसाप (शारदा चौधरी, जनआन्दोलन (२ का दोषी ठहर) हुनुहुन्थ्यो । ड्युटी सकेर दिउँसो ३ बजे आफ्नो क्वार्टरमा गएँ । सरसफाइ गरे । साँझ ६ बजे खाना पकाएर टेलिभिजन हेर्दै थिएँ, सशस्त्र प्रहरीको कार्यक्रम आइरहेको थियो । असइसाप (दानसिंह भण्डारी) ले बोलाए मलाई । युनिर्फम लगाएँ, अनि असइसापकोमा गएँ । म त्यहाँ पुग्दा अन्य प्रहरी जवानसहित असइसाप रक्सी खाइरहेका थिए । उनीहरू मलाई देख्नेबित्तिकै हाँस्न थाले । मैले केही मतलब गरिनँ । मलाई उनीहरूको हाँसोप्रति त्यति चासो पनि जागेन । नवमीको दिन भएकाले सञ्चार-सामग्रीको पूजा गरिसकिएको रहेछ । ठीक नियत भएको भए त मलाई पूजा गर्ने वेलामै बोलाउनुपर्ने हो । तर, यस्तो गरिएन । यतिवेलासम्म ८ बजिसकेको थियो ।

हवल्दार (करवीर थलाल) ले 'ल तिमी असइसापको कोठामा धूप बालेर आऊ' भन्यो । आदेश मान्नैपर्‍यो । हवल्दारलाई सलुट हानेँ, धूप जलाउन असइसापको कोठातिर गएँ । त्यहाँ जाँदा सबै गलल्ल हाँसे । हवल्दारले 'खाना खाएर जाऊ' भन्यो । तर, मैले खाना पकाइसकेकाले म जान्छु भनेर हिँड्न खोजेँ । त्यसपछि असइसापलाई मासु पुर्‍याइदेऊ भन्यो उही हवल्दारले । आदेश मान्नैपर्‍यो । सलुट ठोकेँ, मासु समातेर असइसापको कोठामा गएँ ।

असइसापको कोठामा एउटा कुर्सी राखिएको थियो । असइसापले बस भने । पहिले त बसिनँ, बस न बस भनेर कर लगाएपछि भनेको मान्नैपर्‍यो । सलुट हानेर कुर्सीमा बसेँ । मलाई पनि कचौरामा मासु दिएका थिए । म मासु खान थालेँ । मासु खाँदा कता-कता नमीठो लाग्न थाल्यो । असइसाप खाऊ, खाऊ भन्दै थिए । खाँदाखाँदै आँखा बुझिन थाले । अप्ठेरो महसुस हुन थाल्यो । उठ्नै गाह्रो हुन थाल्यो । पानी लिन जान खोज्दा लड्नेजस्तै भएँ । उठ्न गाह्रो भएपछि कुर्सीमै बसेँ । त्यतिवेला सबै त्यही कोठामा आइसकेका थिए । सबै गलल्ल हाँसे ।

यत्तिकैमा, एउटाले मेरो हात समात्यो । मैले त सहयोग गर्न हात समातेको होला भन्ने सोचेकी थिएँ । तर, त्यस्तो रहेनछ । अनि प्रहरी जवान नरभान महतरा आयो । उसले मुख छोप्यो । म कराउन खोजेँ, तर सकिनँ । त्यसपछि उनीहरूले मलाई गालामा टोक्न थाले । असइसाप हाँसिरहे । असइसापले पनि जथाभावी गरे । त्यसपछि हवल्दारहरू करवीर थलाल, वीरेन्द्रबहादुर बम र वीरादत्त बडु, प्रहरीहरू नरभान महतरा र जगदीश पाण्डेयले जथाभावी गरे ।

सबैले जे-जे मन लाग्यो सबै गरे । म बेहोस भएछु ।

१२ असोजको बिहान, निद्रा खुल्दा मुखदेखि खुट्टासम्म घाउ नै घाउ देखेँ । शरीर अत्यन्तै दुखिरहेको थियो । उठ्न खोजेँ, उठ्न सकिनँ । राति ११ बजेको कुरा, तिनीहरूले मेरा श्रीमान्लाई फोन गरेर बोलाएछन् । श्रीमान्ले मलाई कोठामा लगेछन् । उनीहरूले श्रीमान्लाई पनि कुटेछन् । श्रीमान्ले रातिका सबै कुरा बताए । त्यसपछि म बलजफ्ती इन्स्पेक्टरसाप -शारदा चौधरी, जनआन्दोलन—२ को दोषी ठहर) कोमा गएँ । त्यहाँ जाँदा पनि सबै हाँस्न थाले । सबै कुरा इन्स्पेक्टरसापलाई भनेँ । उजुरी दिन खोजेँ, तर कसैले मानेनन् । मलाई उल्टै हकारे । 'प्रहरीको बदनाम हुन्छ, बाहिर पनि यो कुरा भन्यौ भने मारिदिन्छु भने । मारेर आत्महत्या गरेको हो भनिदिन्छौँ भनेर इन्स्पेक्टरसापले हप्काए । रुँदै-रुँदै म आफ्नै कोठामा फर्कें ।

श्रीमान्ले पनि घटनालाई उजुरी गर्न मानेनन् । अञ्चल प्रहरी कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी गर्छु भन्दा श्रीमान्ले पनि सहयोग नगर्दा मेरो मन कुँढियो । 'बदनाम हुन्छ । तिमीले यो कुरा बाहिर ल्यायौ भने म तिमीलाई अस्वीकार गर्छु । हाम्रो परिवारले पनि स्विकार्नेवाला छैन । म यहाँ बस्दिनँ, सीधै भारत जान्छु । त्यतै हराउँछु' भन्न थाले मेरा श्रीमान्ले । त्यसै पनि अन्तरजातीय विवाह भएकाले परिवारले मलाई मेरो श्रीमान्को घर जान दिएको थिएन, बिहेपछि श्रीमान् मसँगै थिए । श्रीमान्का कुरा सुनेपछि एकातर्फ सोचेँ, ठीकै छ, श्रीमान्ले नै यस्तो भन्छन् भने सहेरै बस्छु ।

यता, दिउँसो घरमा फोन गर्न सञ्चारमा जाँदा पनि सबैले मेरो खिल्ली उडाउने क्रम जारी थियो । मैले केही मतलब गरिनँ ।

असोज १३ गतेको कुरा हो । अब त दैनिक कामधाममा जाने विचार गरेकी थिएँ । दिदीलाई फोन गरौँ भनेर सञ्चारमा जाँदै थिएँ, असइसाप र मेजरहवल्दारहरू हाँस्न थाले । गिज्याउँदै भने, 'बल्ल ठीक भो । तेरो सेखी झर्‍यो । हिजो राति के-के भयो, तँलाई थाहा छ नि ?' सबै हाँस्न थाले । सञ्चारमा गएर दिदीलाई फोन गरेर फर्किंदा पनि त्यही भने । बाटोको दुवैतिर उभिएर हाँस्दै भने, 'बल्ल मजा आयो । अब त आनन्द भयो होला । बेस्सरी दुखिरहेको छ होला । मुखमा पनि घाउ भएछ ।' उनीहरू यस्तै कुरा गरेर टर्चर दिइरहेका थिए । बलात्कारभन्दा पनि उनीहरूको टर्चर सहन साह्रै गाह्रो भो मलाई । मैले केही सोच्नै सकिनँ । कोठामा गएँ । लुगाफाटो पोको पारेर दिपायल हिँडेँ ।

डिआइजीसाप (पार्वती थापामगर) लाई भेटेँ । सबै कुरा बताएँ । क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएँ । उजुरीका लागि डिआइजीसाप थापामागरले सहयोग गर्नुभो । डिआइजीसापसँगै सेती अञ्चल प्रहरी कार्यालय धनगढी आएँ । एसएसपीसाप (ढकबहादुर कार्की) लाई पनि सबै कुरा भनेँ । उहाँले पनि कारबाही गर्छु भन्नुभो, तर उजुरी लिन मान्नुभएन । सबै कुरा मिडियामा आयो । पाँच दिनपछि सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । छानबिन गर्छौं भनेर अछाम लगियो । अछाममै थिएँ । गृहमन्त्रीजी (भीम रावल) आउनुभो । गृहमन्त्रीजीलाई पनि सबै कुरा भनुँला भन्ने सोचेकी थिएँ । उहाँसँग भेट गर्न दिइएन मलाई । उहाँसँग भेट गर्न नदिइए पनि उहाँले त कम्तीमा मसँग कुराकानी गर्नुहोला भन्ने सोचेकी थिएँ, आस गरेकी थिएँ । तर, त्यस्तो भएन । गृहमन्त्री रावलले पनि पनि केही मतलब गर्नुभएन ।

त्यसपछि प्रधानमन्त्रीजी (माधवकुमार नेपाल) लाई त सबै कुरा भनेँ । नेपाली सेनाको ब्यारेकमा उहाँलाई भेटेकी थिएँ । सबै कुरा बेलीविस्तार लगाएँ मैले प्रधानमन्त्री नेपालसँग । प्रधानमन्त्री नेपालले मेरो कुरा सुनेपछि उनीहरूलाई कारबाही गर्छु भन्नुभएको थियो । तर, अहिलेसम्म केही भएको छैन । यत्तिका दिन बितिसके, म यसरी नै कहिले धनगढी, कहिले दिपायल र कहिले अछामतिर लुकिछिपी बसिरहेकी छु । दोषीहरू निर्धक्क भएर घुमिरहेका छन् । उल्टै मलाई दोषीहरूले पागल हो भनेर मेरो कुरा काटिरहेका छन् । घटनाका विषयमा मिडियामा आएपछि र मैले उजुरी दिएपछि मेरा श्रीमान्ले पनि मलाई सहयोग गरिरहेका छन् । यसमा डिआइजीसापको पनि सहयोग छ, तर अरू धेरैले दोषीहरूलाई बचाउन खोजेजस्तो लागेको छ मलाई । प्रहरीसेवाभित्रै यस्तो घटनाको सिकार भएकी मैले के-के सोचेकी हुँली, मेरो मनमा कस्ता कुरा खेल्छन् होला, सबै अनुमान लगाउन मात्र सकिने कुरा हुन् । जबसम्म दोषीहरूलाई सख्त कारबाही हुँदैन तबसम्म म राम्ररी निदाउन सक्दिनँ । कतिपय वेला त म अब यस संसारमा बाँचेर काम छैन, यस्तो अन्याय सहनुभन्दा मर्नुपर्छ भन्ने पनि लाग्छ ।

Saturday, October 24, 2009

भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ

महेन्द्रनगर, ५ कात्तिक

भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।

स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।

तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।

मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।

दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । 'महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,' डिएसपी विष्टले भने ।

उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।

तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्‍यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । 'उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,' डिएसपी विष्टले नयाँ पत्रिकासित भने, 'महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।'

दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । 'भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,' उनले भने, 'जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।'

के हो सुपरसोनिक ?

लडाकु जहाजमा सुपरसोनिक दुनियाँमै दु्रततम् र सबैभन्दा हलुका मानिन्छ । सुपरसोनिकमा पनि भारतले संसारकै सबैभन्दा सानो र हलुका लडाकु विमान एलसिए -लाइट कम्ब्याट एअरक्राफ्ट) बनाएको छ । भारतीय वायुसेनाले एलसिएलाई सीमा-गस्तीमा लगाएको छ ।

एलसिए सुपरसोनिक भारत आफैले बनाएको दोस्रो लडाकु विमान हो जसमा एक पाइलटका लागि मात्रै सिट छ । विमान हलुका र तीव्र मात्र होइन, प्रतिस्पर्धीलाई छक्याएर उड्न सक्ने क्षमताको मानिन्छ । सन् २००८ मा औपचारिक उडान सुरु गरेको एलसिए सन् २०१५ सम्ममा पूर्ण प्रविधियुक्त हुने भारतको अपेक्षा छ ।

भारतले पहिलो लडाकु विमान 'हिन्दुस्तान फाइटर' सन् १९६२ मा नै बनाएको हो । हिन्दुस्तान फाइटर (एचएफ) लाई विकसित गरेर एलसिए सुपरसोनिक जहाज बनाइएको हो । यसको तयारी सन् १९८३ मा सुरु भएको हो । तर, पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप अमेरिकाले सैनिक सहयोगमा नाकाबन्दी लगाएपछि एलसिए निर्माण लगभग अवरुद्ध भएको थियो । तर, एलसिएको सफल परीक्षणपछि भारत डबल इन्जिनको एमसिए बनाउने तयारीमा छ ।

आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न यो विमान बनाइएको हो । त्यस्तै, लेजरको निर्देशनमा खस्ने बम पनि यो विमानले बोक्न सक्छ । यो विमानले चार हजार किलो हतियार बोक्न सक्छ ।

माओवादीद्वारा नौदिने अल्टिमेटम


काठमाडौं, ६ कात्तिक


माओवादीले १५ कात्तिकसम्म आफ्ना माग पूरा गर्न सरकार र सरकारमा सहभागी राजनीतिक दलहरूलाई 'अल्टिमेटम' दिएको छ । आफ्ना माग सम्बोधन नभए सरकारविरुद्ध अवज्ञामूलक आन्दोलन गर्ने निर्णयसमेत उसले गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्ताव बैठकले एकमतले पारित गरेको हो ।

'१५ गतेसम्म नागरिक सर्वोच्चता स्थापित गर्नेतर्फ अन्य दलले ध्यान दिएनन् भने हामी आन्दोलनमा जान्छौँ,' पार्टी प्रवक्ता दीनानाथ शर्माले बैठकपछि संवादाताहरूसँग भने ।

बैठकले 'संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल' नामक मोर्चालाई आन्दोलनको समय र तिथिमिति तय गर्न निर्देशन दिएको छ । ८ र ९ कात्तिकमा बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम तय गर्नेछ । सरकारको रवैया हेरेर आन्दोलनका स्वरूप निर्धारण गर्ने माओवादी स्थायी समिति सदस्य सिपी गजुरेल गौरवले बताए ।

यसअघि नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमका विषयलाई मात्र उठाएर आन्दोलन गर्दै आएको माओवादीले अबको आन्दोलनमा आफ्नो पार्टीको नेतृत्वका नयाँ सरकार गठनको मागलाई पनि अगाडि सार्ने भएको छ ।

'यो सरकारले संविधान निर्माण, शान्तिप्रक्रिया, सेना समायोजन र जनताका दैनिक समस्याका मुद्दालगायतका काम गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो,' गौरवले शुक्रबार साँझ नयाँ पत्रिकासँग भने, 'त्यसकारण अबको आन्दोलनमा नयाँ सरकारको मुद्दा पनि थपिनेछ ।'

बैठकले राजनीतिक दलहरू जारी राजनीतिक गतिरोध हल गर्नका लागि जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । 'अन्य दलहरू शान्ति र नयाँ संविधान चाहँदैनन्, देशलाई गृहयुद्धमा धकेल्न चाहन्छन्,' प्रवक्ता शर्माले भने, 'हामीले जिम्मेवार प्रतिपक्षको हैसियतले पटकपकट सहमतिका लागि प्रयास गरेका छौँ ।'

स्रोतका अनुसार भारतको एउटा तप्का अहिले पनि वार्ता नहोस् र नेपालमा थप अराजकता सिर्जना होस् भन्ने पक्षमा रहेको माओवादी विश्लेषण छ ।

माओवादीले नागरिक सर्वोच्चताको विषय र सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमबारे सदनमा बहस नभएसम्म सदन चल्न नदिने आफ्नो अडान कायम राख्ने निर्णय लिएको छ । 'सदन हामीले रोकेको होइन, राष्ट्रपतिको असंवैधानिक कदममा छलफल गर्न दिए एक मिनेटमै सदन खोल्छौँ,' प्रवक्ता शर्माले भने, 'सदन खोल्ने वातावरण सरकारले बनाउनुपर्छ ।'

संगठनात्मक जिम्मेवारी हेरफेर गर्ने बैठकको एजेन्डा रहेको भए पनि करिब एक घन्टा बसेको स्थायी समितिको बैठकले यसबारे कुनै निर्णय गरेन ।

यसअघि ५ असोजमा बसेको माओवादी स्थायी समितिको बैठकले दसैँसम्म सहमति नबने अर्को चरणको आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो । गत २ असोजमा माओवादीको पहिलो चरणको आन्दोलनको कार्यक्रम सकिएको थियो ।

त्यसपछि १८ असोजमा बसेको माओवादीको स्थायी समिति बैठकले राजनीतिक गतिरोध हटाउन तिहारसम्म सहमतिका लागि प्रयास गर्ने निर्णय गरेर अनौपचारिक रूपमा आन्दोलन स्थगित गरेको थियो ।

Wednesday, October 21, 2009

हङकङमा भिसा खोल्न पहल

हङकङमा भिसा खोल्न पहल
23 October, 2009
काठमाडौं

साढे चार वर्षदेखि रोकिएको हङकङ रोजगारी खोल्न सरकारले पहल सुरु गरेको छ । जेठ, ०६४ सालमा हङकङ सरकारले द्वन्द्वको कारण देखाउँदै नेपाली कामदारलाई भिसा रोक लगाएको थियो ।
माओवादी युद्ध सकिएपछि पनि हङकङले निर्णयमा पुनर्विचार गरेको छैन । साढे चार वर्षपछि हालै श्रम मन्त्रालयका अधिकारीले हङकङ गई निर्णय पुनर्विचार गर्न औपचारिक आग्रह गरेका छन् । 'नेपाली महिलाका लागि हङकङ सबैभन्दा उपयुक्त रोजगार गन्तव्य भएकाले बन्द भिसा खुलाउने प्रयास थालिएको हो,' मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने, 'नेपालमा फेरिएको परिस्थितिबारे हामीले हङकङ अधिकारीलाई विस्तृत जानकारी गराएका छौँ । उनीहरूले गम्भीरतापूर्वक लिएको बताउँदै विकसित अवस्थाको समीक्षा गर्ने आश्वासन दिएका छन् ।'
हङकङमा नेपाली घरेलु कामदारको न्यूनतम तलब तीन हजार पाँच सय ८० हङकङ डलर तोकिएको छ । हाल त्यहाँ घरेलु कामदारका रूपमा नेपाली महिलाको संख्या सात सय २० छ । साढे चार वर्षअघि एक हजार आठ सयको हाराहारीमा नेपाली महिला कामदार थिए । स्थानीय परिचयपत्र प्राप्त गरी नेपालीमूलका करिब १८ हजार मानिस हङकङमा बस्छन् ।
साढे चार वर्षअघि नेपालसँगै नाइजेरिया र श्रीलंकाको भिसा पनि रोकिएको थियो । तर, ती मुलुकले कामदारका लागि भिसा नखोले खुला व्यापारमा कडाइ गर्ने चेतावनी दिएपछि हङकङले निर्णय पुनर्विचार गरेको थियो । नेपालले भने यसबीचमा पहल गरेको थिएन ।
नेपालले पहल नगरेको, नेपालसँग हङकङको खासै व्यापारिक सम्बन्ध नभएको, नेपाली कामदारले पछिल्लो समयमा राम्रो छाप पार्न नसकेको र हङकङमा चीनबाट बसाइ सरेर आएको नयाँ पुस्ताले नेपालीको योगदान नबुझेका कारण त्यहाँको सरकारले नेपाललाई कम वास्ता गरेको निष्कर्ष श्रम मन्त्रालयले निकालेको छ ।
मन्त्रालयले हङकङ भ्रमणको क्रममा त्यहाँस्थित कामदार, नेपाली समाज, सरकारी अधिकारी र सांसदसँग कुराकानी गरी सो निष्कर्ष निकालेको हो । 'नेपाली महिला यौन व्यवसायमा लागेको, फर्जी विवरण पेस गरेर शरणार्थी भत्ता बुझ्ने गरेको र फर्जी विवरण तयार गर्न स्थानीय समाजले सहयोग गर्ने गरेकोलगायतका कारणले पनि नेपालीप्रति सरकारले सहानुभूति नराखेको बुझियो,' एक सहभागीले बताए ।
हङकङ अधिकारीसँग नेपाली सरकारी प्रतिनिधि र स्थानीय समाजले नेपालबाट शरणार्थी नआउने प्रतिबद्धता व्यक्त गर्दै त्यहाँ फैलिएका विभिन्न भ्रम निवारण गर्ने प्रयास गरेका थिए । हङकङले नक्कली शरणार्थी आएका कारण भिसा रोकेको दाबी गरे पनि साढे चार वर्षको अन्तरमा शरणार्थी संख्या झन् बढेको छ । यो अवधिमा शरणार्थी संख्या १६ जनाबाट पाँच सय पुगेको छ ।
पछिल्लो समयमा फिलिपिन्स र इन्डोनेसियाले घरेलु तालिम दिएर कामदार पठाउन थालेका कारण पनि नेपालतिर हङकङको ध्यान नगएको बताइएको छ । 'त्यहाँ सक्षम कामदारको अभाव छैन, त्यसैले नयाँ मुलुक खोज्नेतिर कसैको चासो छैन,' भ्रमणमा सहभागीले भने, 'नेपाल आपैले पहल गर्नुपर्छ ।'
हाल नेपालबाट हङकङमा करिब १० करोड रुपैयाँबराबर निर्यात र एक अर्ब रुपैयाँबराबर आयात हुने गरेको छ । हङकङ व्यापारिक राज्य भएको हुनाले उसले अन्य देशसँग राख्ने सम्बन्ध व्यापारिक नाफा- नोक्सानमा आधारित हुने जानकारहरू बताउँछन् ।
नेपाली महिला घरेलु कामदारको उपयुक्त अर्का गन्तव्य इजरायल पनि अहिले रोकिएको छ । नेपालका वैदेशिक रोजगार व्यवसायीले महँगो शुल्क लिएर कामदार पठाएको भन्दै महँगो शुल्क लिने कम्पनीलाई कारबाही नगरेसम्म भिसा रोक्ने निर्णय इजरायल सरकारले गरेको छ ।
यसैगरी, खाडी मुलुकमा नेपाली महिला कामदार असुरक्षित भएको भन्दै सरकार आफैँले घरेलु काममा पठाउन स्थगन गरेको छ । महिलाका लागि उपयुक्त मुलुकको रूपमा अहिले लेवनान मात्र रहेको छ ।

Tuesday, October 20, 2009

पर्बत प्रबाशी समाज द कोरियाको सुचना

सन्जीब चापागाई
सोमबार,October,१९,२००९

पर्बत प्रबाशी समाज द कोरियाले यहि आउदो महिनाको 2009/11/01 तारिक दोङ्देमुनमा सम्पुण पर्बत बासी दाजु भाई तथा दिदी बहिनीहरुलाई आमन्त्रण गरि ब्यापक छलफल गरिने भएको छ । सो छलफलमा पर्बत प्रबाशी समाजका आन्तरीक बिसयहरु लगायत आगामी सल्नाल 2010/02/14 तारिकमा प्रर्बत प्रबाशी समाजद्धरा गरिने सास्कृतिक कार्यक्रमको तयारीको लागि कलाकार छनौट लगायतका बिषयहरुमा निणायक छलफल गरिने भएकोले उक्तदिन सम्पुण पर्बतबासी दाजु भाइ तथा दिदि-बहिनीहरुलाई उपस्थित भइदिनु हुन प्रबत प्रबाशी समाज हार्दिक अनुरोध गर्दछ ।
स्थान - रेन्बो स्कुल दोङ्देमुन
समय - दिनको १२ बजे (लाइन नम्वर १ दोङ्देमुन - गेट नम्बर १ ,२ र ३)
सम्पर्क फोन नम्बर
तुल ब पुर्जा 01046949826 , संसार पुन 01085012037, गोविन्द गुरुङ् 01096911332,

टिका गुरुङ् 01053311294, Sanjib Chapagai 0102520 0032

रेनु पुन 01068704266, हरि प्रसाद पौडेल 01086887726, सुर्य पुन 01196857916,

राजेन्द्र अधिकारि 01072198208,

अमर पुन 01028912526, ओम गुरुङ् 01058162326, रीतु थापा 01086825704

Sunday, October 18, 2009

प्रवासी मजदुरहरुलाई समातेर घर फर्काउने चलन नयाँ र नौलो होइन तर


संसार पुन, दक्षिण कोरिया
संसार पुन ,कोरिया

कोरियामा अबैधानिक प्रवासी मजदुरहरुलाई समातेर घर फर्काउने चलन नयाँ र नौलो होइन तर केहि समय देखि कोरियामा नौलो र नयाँ तरिकाले पक्रिने कोसिस गरिरहेको छ जसको लागि प्रवासी मजदुर संघ मात्रै नभई कोरियाको सम्पूर्ण राजनिक दलहरु पनि पुर्णरुपमा बिरोद र पर्तिकार गरिरहेको छन् l
कोरियामा अध्यागमनले १९९५ तिर पनि धर्पकट गर्ने बेलामा १९९७ मा एसियामा लागेको "आइ यम यफ" (व्यापार घाटा) कोरियामा पूर्ण असर पर्दा धेरै बिदेशीहरु घर फर्के पछि धर्पकट सामान्य भएको थियो रे पछि किम्देअजुंग रास्ट्रपति भएको बेला 'फिफा वोर्ल्ड कप" हुदा सम्पूर्ण बिदेशीहरुलाई अबैधानिकबाट बैधानिक बनाएको थियो भने नमुहेअन रास्ट्रपति भएको बेला २००४ बाट "इ प यस" नियम लागु गरि केहि अबैधानिकलाई बैधानिक बनाउदै र नयाँ कामदारहरु कोरियामा परबेश गराउदै कडा धर्पकट सुरु गरेको थियो l
जेहोस धर्पकट मुख्य स्थान र कम्पनिहरुबाट हुनेता गर्दथियो तर नेपालीहरुको मुटु र गल्लीको रुपमा परिचित तोंगदेमुनको रेस्टुरेन्ट र पसलहरुमा पसेर अध्यागमनले समतने, कोठा-कोठाहरुमा छापा हानेर समतने, काम गरेबापत पाइने तलब तथा १ वर्ष काम गरे बापत पाइने १००-२०० पर्तिसत थेजिकम तथा बोनस कुराहरु कम्पनि मालिक(साहु) संघ गर्दा अध्यागमनलाई बोलाई समताउने र छुटेकोहरुलाई पनि प्रहरी लाई रिपोर्ट गर्ने तथा बाटो-बाटोमा समतने नियम कडा र कठोर निकाली रहेको छ जसको लागि वर्तमान रास्ट्रपति इमेम्बाकले अध्यागमन, नोदोंग्बू (लेबोर ओफिस ), प्रहरी र सरकारी कर्मचारीहरुलाई परिचालन यहि २००९ अक्टुबरबाट सुरु गरिरहेछ l

कोरियाको पत्रिकाहरुको रिपोर्टहरुमा २००६ मा २३७७१ २००७मा २२५४६ र २००८मा ३२५९१ जना प्रबासी मजदुरहरु समातेर घर फिर्ता पठाएको थियो भने यहि अक्टुबर मा कोरियामा १८ बर्ष बस्नु भएका कोरियामा मिनु भनेर चिनिनु हुने नेपाली जो ३८ वर्ष पुग्नु भएको छ उहा योंग्सान क्षेत्र बाट समातिनु भएको छ उहाले प्रबासी मजदुर संघको रेडियो प्रोग्राम चलाउनु हुनुहुन्थियो l उहा गायक पनि हुनुहुन्छ l उहाको रिहाइको लागि होवासा जेल अगाडी प्रवासी मजदुर संघले १६ तारिक धर्ना दिएको छ जसको फैसला छिट्टै हुदै छ उक्त धर्ना अर्थात् बिरोद कार्यक्रमलाई कोरिएको सम्पूर्ण राजनीतिक दलहरुले सहयोग गर्दै छिटो धर्पकट बन्द गर्न चेतावनी दिएको छ साथै प्रवासी मजदुरहरुलाई समातेर पठाउनु भनेको चराको पखेटा काटेर छोडिनु हो भनेको छन् l

Wednesday, October 14, 2009

नेपल-भारत सिमाको ६ स्थानमा रेल सेवा

नेपल-भारत सिमाको ६ स्थानमा रेल सेवा

भारतले नेपालको ६ स्थानमा रेलसेवा जोड्ने गरी काम अगाडि बढाएको छ । रेलसेवा संचालनका लागि सम्भावनाको अध्ययन गर्न आयोग समेत गठन गरेर काम अगाडि बढाइएको छ ।
भारतीय रेल मन्त्रालयका उच्च अधिकारीको हवाला दिदै भारतीय दैनिक हिन्दुस्तान टाइम्सले छ वटा रेल लाइनहरुमा तीनवटा विहार, दुइवटा उत्तर प्रदेश र एउटा पश्चिम बंगालबाट जोड्ने योजना बनाइएको छ ।
प्रस्तावित रेल लाइनहरुमा रक्सौलबाट वीरगञ्ज, नौतहवाबाट भैरहवा, नेपालगञ्जरोडबाट नेपालगञ्ज, जोगवनीबाट विराटनगर, न्यू जलपाइगुरीबाट काकडभिट्टा र जयनगर बर्दिवास छन् ।
भारतीय रेल मन्त्रालयले छ मध्ये कतिपय योजनाको प्रारुप तयार भइसकेको जनाएको छ । योजना निर्माणमा छिट्टै काम थालिने भन्दै अध्ययन भइरहेका योजनाहरुको काम द्रुत गतिमा भइरहेको उल्लेख छ । रेल सेवा भविष्यमा काठमाडौंसम्म जोड्ने गरी योजना भइरहेको समाचारमा उल्लेख छ ।
चीनले तिब्बतको किङहाइ हुदै काठमाडौं सम्म रेल सेवा विस्तार गर्ने चर्चा चलिरहदा भारतले छ स्थानमा रेल सेवा जोड्ने योजनालाई गति दिएको हो।

एस के नेपाल न्यूज सर्भिस
बुघबार,October,१४,२००९