
पहिलो दिनमै १८ हजार राँगा ढालिए, मन्दिर क्षेत्र रक्ताम्य
प्रकाश लम्साल/नयाँ पत्रिका
बरियारपुर, बारा, ९ मंसिर
बाराको गढीमाई मन्दिरमा पशुबलिको पहिलो दिन मंगलबार १८ हजारभन्दा बढी राँगा ढालिएका छन् । यत्रतत्र टाउको काटिएका राँगा लम्पसार परेका देखिन्छन् भने आसपासको क्षेत्र रक्ताम्य बनेको छ ।
पशुबलि चढाइने ब्रह्मस्थाननजिक भीडका कारण पुग्न नसक्नेले तोकिएको सीमाभित्र यत्रतत्र बलि दिएका थिए । चार बिघा क्षेत्रफलमा रहेको बधशालामा बलि चढाइएको राँगाको रगतले मन्दिर क्षेत्रमा रगतको आहाल बनेको छ । पशुबलिका लागि तीन किलोमिटर क्षेत्रफल सिमाना छुट्टयाइएको छ ।
'बलि सकेसम्म व्यवस्थित गर्ने हाम्रो प्रयास छ,' गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिव जितेन्द्र गुप्ताले भने, 'सबैले तिथिकै मौका छोपी बलि दिने हुँदा रक्ताम्य हुनु स्वाभाविकै हो ।'
जतासुकै पशुको रगत भरिएकाले गढीमाई मन्दिरमा शुद्ध पूजा गर्ने श्रद्धालुलाई कठिनाइ उत्पन्न भएको हेटौँडाबाट आएका प्रमोद वाग्लेले बताए । 'शुद्ध पूजा गर्नेका लागि समितिले मन्दिरसम्म आउन छुट्टै बाटो बनाइदिनुपथ्र्यो,' वाग्लेले भने ।
साँझसम्म १८ हजारभन्दा बढी राँगा बधशालाभित्र बलि दिइएको मेला मूल समितिका सचिव मोतीलाल कुशवाहले बताए ।
'विशाल बलिलाई व्यवस्थित गर्नु हाम्रो जिम्मेवारी हो । आगामी दिनमा थप व्यवस्थित गर्न प्रयास गर्नेछौँ,' कुशवाहले भने ।
चाँँडै बलि दिने होडबाजी चल्दा मार हान्नेहरूलाई बलि दिन आएकाले तानातान गरिरहेको देखिन्थ्यो । बलिको समाचारका लागि स्वदेशी तथा विदेशी सञ्चारकर्मीको व्यापक उपस्थिति थियो । आर्थिक अभावका कारण लाखौँको संख्यामा हुने हाँस, कुखुरा र बोकाको बलिका लागि व्यवस्थित बधशाला बनाउन नसकिँदा यस्तो स्थिति भएको समितिले जनाएको छ । समितिका अनुसार यसपटकको मेलामा झन्डै चार बिघा क्षेत्रफलमा राँगाका लागि व्यवस्थित बधशाला निर्माण गरिएको छ ।